
हुलाकी न्यूज, काठमाडौं २१ माघ । मधेशमा जारी आन्दोलन बारे छलफल गर्न तथा आगामी आन्दोलनका कार्यक्रम तय गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बस्ने भएको छ ।
शुक्रबार र शनिबार मोर्चाको काठमाडौंमा बस्ने मोर्चाको बैठकबाट जारी आन्दोलनको स्वरुप परिवर्तन हुने जनाइएको छ ।
मधेशी मोर्चाका अधिकांश नेताहरुले नाकाबन्दी खोल्नु पर्ने बक्तव्य दिदै आएका छन् ।
काठमाडौं बाहिर रहेका मोर्चाका नेताहरु बैठकका लागि काठमाडौं आउन थालेका छन् । माग पुरा नभएसम्म काठमाडौं नफर्किने भनेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पनि मोर्चाको बैठकका लागि काठमाडौं आउँदै छन् ।
सदभावना पार्टीका महासचिव मनिष सुमनले हुलाकी न्यूजसँग कुराकानी गर्दै मोर्चाको आगामी बैठकबाट आन्दोलनको स्वरुप परिर्वतन हुन सक्ने बताए ।
तराई–मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले आन्दोलनको स्वरुप मात्रै परिवर्तन हुने बताउँदै आन्दोलन जारी रहने जनाए ।
मोर्चाको बैठकमा मधेशीहरुको महागठबन्धन बारे पनि छलफल हुनेछ ।



