
हुलाकी न्यूज, विराटनगर २१ माघ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बीरगंज नाका तत्काल खोलिनु पर्नेमा जोड दिएका छन् । दुई दिने बिहार भ्रमण सकाएर बिराटनगर फर्केका मधेशी मोर्चाका नेता महतोले बीरगंज नाकालाई बार्गेनिङ्गको आधार नबनाउन मोर्चाका अन्य नेतासंग आग्रह गरेका छन् । महतोले भने ’यदि नाका केन्द्रीत आन्दोलनलाई जारी राख्ने हो भने चारवटै नाका ठप्प पारौं अन्यथा बीरगंज नाका पनि सहज गर्नु पर्छ ।
नेता महतोले मधेशी मोर्चाका अन्य नेताहरूद्वारा बीरगंजको नाकाबन्दी यथावत राख्नु पर्ने दिएको अभिव्यक्तिप्रति आफ्नो असहमति जनाएका छन् । मोर्चाका घटक दलका नेताहरूप्रति कटाक्ष गर्दै महतोले भने,’काठमांडौंमा बस्ने अनी बीरगंज नाकाबन्द गर्छौं भन्ने ठूलो ठूलो भाषण दिने, त्यो अब चल्दैन । उनले मोर्चाको आगामी बैठकमा यस बारे विस्तारपूर्वक चर्चा हुने बताए ।
आफ्नै नेतृत्वमा पछिल्लो चार महिनादेखि बीरगंज नाका ठप्प रहेको तर मोर्चाका अन्य नेताले यसमा कुनै चासो नदेखाएकोले बिराटनगर, भैरहवा र नेपालगंज नाका बन्द हुन नसकेको आरोप लगाए । ‘बाध्यताबश गरिएको नाकाबन्दीले नेपाल सरकारमाथि खासै असर नपारेको तर तस्करी मौलाएकोले यो मुलुकको लागि ठूलो चिन्ताको विषय बनेको छ ।’महतोले भने मोर्चाका अन्य नेताहरू इमानदार भई दिएको भए सबै नाका बन्द हुन्थ्यो र सरकारमाथि चर्को दबाब पनि पर्ने थियो ।
सदभावना अध्यक्ष महतोले मधेशी मोर्चाको आगामी बैठकमा आन्दोलनको स्वरूप बारे निर्णय लिइने बताए । उनले भने शक्ति संचय गरेर सरकारमाथि दबाब बनाउनको लागि आन्दोलनको स्वरूपमा रणनीतिक फेरबदल हुन सक्ने संकेत गरेका थिए ।
नाकाबन्दी खोलिने अथवा नखोल्ने र आन्दोलनको स्वरूप बारे छलफल गर्न मधेशी मोर्चाको बैठक २२–२३ गते काठमांडौंमा हुने सम्भावना छ । मोर्चाका नेताहरू बिहारबाट फर्केर आएका छन् । बैठकका लागि उनीहरू काठमांडौं पुग्दै छन् । आगामी मोर्चाको बैठक निकै महत्वपूर्ण मानिएकोले महतो आफै काठमांडौं पुग्ने बताए ।



