lAXMAN-THARU

मलाई गिरफ्तार गरिएको होइन । २०७२ साल भाद्र २३ गते भैरहवामा हुने बिरोध सभाको तयारी गर्दै गर्दा बिहान एसपी राजेन्द्र भण्डारीले मेरा मित्र देवीप्रसाद चौधरीलाई फोन गरी निम्तो गरे चिया खाना आउनुस् नेताजी, केही कुराकानी पनि गर्नु छ ।देबीजीसँगै जिप्रका भैरहवा पुग्यौँ । एसपीको कोठामा बस्यों । चिया आयो ।

एसपी भण्डारीले हाँस्दै भने लक्ष्मणजी, तपाई गिरफ्तार हुनु भो । दुःख नमान्नु होला, माथिको आदेश हो ।देबीजीले सोध्नु भो के गल्ती । के अपराध । के कसुरमा गिरफ्तारी ?कुनै उत्तर नदिएर लगत्तै वहाँलाई बाहिर लगियो । मलाई अर्काे गाडीमा कोच्दै गर्दा बुहुको फोन आयो तर खोसियो । मोबाइल अफ भो ।मैले आफूलाई भन्दा उनलाई सोच्न थालें । फोनमा कुरा गर्दागर्दै कस्तो तड्पिन होला उता काठमाण्डौमा । उनको छटपटी के केमा हुन्छ, मलाई राम्रै थाहा छ ।

गिरफ्तारीको एक घण्टामै इप्रका बुटवल गेटभित्र गाडी छियौं । त्यहाँ कडा सुरक्षामा राखियो । दुई घण्टापछि अर्काे गाडीमा कोचियो ।मैले सोधें धनगढी लाने हो ?एकजनाले नबोल भन्यो ।अर्काेले मुन्टो हल्लाउँदै मतलब हो को ईशारा गयो ।शासकहरूको नयाँ मामला होइन यो भनेर चित्त बुझाएँ । खै कति बजेको थियो, कपिलबस्तुको चन्द्रौता प्रहरी चौकीमा पुग्दा । त्यहाँ टिभीमा एकछिन झुलुक्क समाचार हेर्ने मौका पाएँ । टीकापुर घटनाको शंकास्पद योजनाकार लक्ष्मण थारू भैरहवामा गिरफ्तार भनेर फलाक्दै थियो । बल्ल थाहा पाएँ, २०७२ भदौ ७ को टीकापुर घटनाको केरकारका लागि लगिदै गरेको भनेर ।

दर्जनभन्दा बढी गाडी अदलबदल गर्दै राती साढे ११ बजेतिर धनगढी पुयायो । सिधै सेती अञ्चल अस्पताल लगियो । करिब एक सयको संख्यामा पुलिस, म एक्लो थिएँ । हतार हतार मेडिकल चेकपछि कैलाली जिप्रकाको कैदी कोठामा हतकडीसहित कोचियो ।१२ जना लागू औषधका बन्दीहरू रहेछन् त्यहाँ । उनीहरूसंग केही बेर कुराकानी गरें । बाहिरबाट पुलिसले ईशारा गयो । लागू औषधका बन्दीहरूले लात र मुक्काले अन्धाधुन्ध हान्न थाले । उनीहरूले कति लात र मुक्का बर्साए, थाहा भएन । बेहोश भएछु । होशमा ल्याउन शायद पानी छ्यापेछन् क्यारे । होश खुल्दा आफूलाई निथुरुक्क भिजेको पाएँ ।

टोलाउँदै बाहिर एक नजर दौडाएँ ।बन्दुकधारी मनुवा गार्डले नजिकै आएर भन्यो देख्ने ठाउँमा नहान केटा हो । तर कामै नलाग्ने गरी मर्मत गर ।बन्दुकधारीको उर्दी भुइमा झर्न नपाउँदै फेरि लात र मुक्का बर्सियो । पुनः अचेत भएछुँ । पहिलो मुक्का बर्सिदा सुनेको थिएँ साला, तँलाई थरुहट चाहियो होइन ? अखण्ड सुदुर पश्चिम स्वीकार्छस् कि ? नभए आजै मारि दिन्छौं । लगत्तै फेरि बेहोश भएछँु ।मलाई बिहान बाहिर निकालियो । एसपी र एसएसपीसँग लामै कुराकान िभयो ।

रातीको निर्घात कुटाई र थरुहट आन्दोलनको राजनैतिक, आर्थिक, सामाजिक र आन्दोलनको अवस्थाबारे बेलीबिस्तार लगाएँ । तीन घण्टाको छलफलपछि मलाई अर्काे कोठामा सारियो ।अर्काे कोठामा पुग्दा फोरम लोकतान्त्रिक कैलाली ३ नं. का क्षेत्रीय अध्यक्ष रामप्रसाद चौधरीलाई भेटें । एकैछिनपछि थरुहटथारूवान कैलालीका संयोजक लाहुराम चौधरी अजगरलाई त्यही ल्याइयो । सामान्य जानकारी गराएँ । कुटाईले थला परेको देखेर मलाई आराम गर्न भनियो । छाती, बाँया कोखा, टाउकोमा टुटुल्कै टुटुल्का, असाध्यै दुखिरह्यो । हात र पिठ्यू दामै दामले कालो थियो । भेट्न आउनेलाई दुई दिनसम्म कसैलाई भेट्न दिइएन । सुतेर बिताउँदा नि सन्तोष भएन ।मेरो सोचाईको बादल मडारिन थाल्यो । निर्घात कुट्नेहरू नि कैदी हुन् । लागू औषधका यी सबै कैदी अखण्ड पक्षधर ? सोधें आफैलाई कि तीन लाख पचास हजार थारू भएको कैलाली जिल्लाको कुन कार्यालयमा थारू प्रमुख छ ? तर उत्तर पाइनँ ।

आठौ दिन म्याद थपको लागि अदालत लगियो । त्यही टीकापुर घटनामा संग्लग्न भनेर गिरफ्तार गरिएका २२ जना भेट भयौं । केही चिनजानका रहेछन् । पुलिसको हावादारी अनुसन्धानकै आधारमा सरकारी वकिलले कर्तब्य ज्यान मुद्दा गरिसकेको रहेछ ।२०७२ असोज सात गतेबाट बयानका लागि नियमित अदालत लान थालियो । सबैले सबैले आआफ्नो भोगाई सुनाए । सबैलाई चरम यातना दिइएको रहेछ । उनीहरू हाँस्दा पनि त्रसित देखिन्थे । त्यसमा एक जना १३ बर्षिय नाबालक पनि थिए । मैले उनीसंग वार्तालाप गरें ।नाम के हो ?करण थारू ।तिमीलाई किन ल्यायो ?उ बोलेन । खिसिक्क हाँस्दै दुबै खुट्टामा लागेको गोलीका दामहरू देखायो । फेरि सोधे,के भयो ?गोली लाग्यो ।

पुलिसले निर्घात पिटेको पिठ्युको दाम देखाउँदै सुक्क सुक्क रोयो । मुसार्दै फेरि सोधे,कति बर्ष भयो ?१३ बर्ष ।पढ्छौ ?सात कक्षामा ।कसरी गोली लाग्यो ?आन्दोलनमा पुलिसले हान्यो ।घरमा को को छ ?म र हजूर बा मात्रै ।बा आमा नि ?बाबा इन्डिया कमाउन ।आमा भन्न सकेन उ । किनकी आमा सौतेनी ।कसरी समात्यो ?घरमै गएर । हजुरबाले बाकसभित्र राखेर ताल्चा लगाई दिनु भाको थियो त्यहीबाट समात्यो ।म तिनछक परे उसको घटना भन्दा जवाफ दिने शैलीले । अझै कुरा जान्न तल तल भो । तर त्यहाँ कुराकानी गर्ने सिमा थियो ।

भाग १लक्ष्मण थारुको प्रकाशोन्मुख कृति जेल डायरीबाट —

Laxman-Tharu-Book-Sex-War-And-Jail

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.