
हुलाकी न्यूज, बीरगञ्ज २० माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक घटक तथा तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशी मोर्चाका नेताहरुको विहार भ्रमण स्वभाविक भएको बताएका छन् ।
बीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले दुःखको बेला बिहारका आफ्ना इष्टमित्रलाई सम्झिनु स्वभाविक भएको बताए । ठाकुरले भने,‘मधेश आन्दोलनलाई भारतसँग जोड्नु दुखद हो । दुःखका बेला इष्टमित्रलाई जो कोहीले पनि सम्झिन् छन् । मोर्चाको विहार भ्रमण स्वभाविक र फलदायी हो ।’
मधेशी पत्रकार समाजले एक होटलमा गरेको उक्त पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले मधेश आन्दोलनलाई सरकारले साम्प्रदायिक बनाउन खोजेको आरोपसमेत लगाएका छन् ।
आन्दोलनको प्रसंगमा ठाकुरले मधेशीको चाहनाअनुसार सिंमाकन नभएसम्म नाकाबन्दी जारी रहने ठोकुवा गरे । ठाकुरले भने,‘मधेशीसँग लिखित सहमतिको कार्यान्वयन नभएसम्म आन्दोलन रोकिदैन । सिमाकंन मधेशीको चाहनाअनुसार हुनै पर्छ । मोर्चाको आगामी बैठकबाट आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक हुनेछ ।’




