
हुलाकी न्यूज, राजविराज १९ माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका सप्तरी संयोजकसहित १७ जना नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् । मोर्चाका नेता लक्ष्मण यादवका अनुसार नेपाली काँग्रेसको नगरअधिवेशन विथोल्न गएका मोर्चाका कार्यकर्ताहरु पक्राउ परेका हुन् ।
राजविराजस्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालयमा जारी काँग्रेसको निर्वाचनलाई बिथोल्ने तयारी गर्ने क्रममा दिउँसो प्रहरीले उनीहरुलाई विद्यालय अगाडिबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादव, सदभावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादव, संघीय समाजवादी फोरम नेपाका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला सचिव उमेश यादव, सदस्य केदार यादव, सुरेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला कोषाध्यक्ष बीरेन्द्र साह, नेकपा माओवादीका जिल्ला संयोजक जयप्रकाश यादव, युवा विद्यार्थी मोर्चा सप्तरीका सल्लाहकार शम्भु यादव, युवा फोरमका विशाल यादव, सञ्जय यादवलगायतका रहेका छन् ।




