
हुलाकी न्यूज, बीरगञ्ज १९ माघ । संघीय समावेशी मधेशी गठबन्धनका नेताहरुले मधेशमा महागठबन्धन बन्नु पर्ने माग गर्दै आएका छन् । बारम्बार प्रेस विज्ञप्तिमार्फत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई महागठबन्धन बनाउन वा कार्यगत एकता गर्न आग्रह गर्दै आएको छ । तर गठबन्धनका नेताहरुबीच नै तालमेल हुन सकेको छैन ।
आइतबार र सोमबार बीरगञ्जमा गठबन्धनको बैठक बसेको र विभिन्न निर्णय गरिएको समाचार बाहिर आए पनि बास्तविकता अर्कौ छ । आइतबार दिउँसो दुई बजे हुने भनिएको गठबन्धनको बैठक आइतबार बस्न सकेन । कारण थियो गठबन्धनका नेताहरु आइतबार राती साँढे आठ बजे बीरगञ्ज पुगेका थिए ।
त्यसपछि सोमबार विहान हुने भनिएको बैठक ९ः३० बजे सुरु भयो र बैठकमा उर्दी जारी भयो कि १२ः३० बजे पत्रकार सम्मेलन राखिएको छ । दुई दिन हुने भनिएको गठबन्धनको बैठक तीन घण्टामा सक्यो ।
गठबन्धन निर्माण भएपछि गठबन्धनका चारै घटकका नेताहरु एक साथ यो तेस्रो पटक बसेका थिए । सोमबारको बैठक गठबन्धनका अध्यक्षहरुको करिब महिना दिन पछिको बैठक थियो । आन्दोलन जारी रहँदा गठबन्धनका नेताहरुलाई बैठक गर्न फुर्सद नै थिएन । फेसबुकमा सिमित रहेर गठबन्धनको विज्ञप्ति जारी हुँदै आएको कुरा बैठक पनि उठेको थियो ।
सोमबार गठबन्धनका नेताहरुलाई यतिसम्मको फुर्सद थिएन कि उनीहरुले प्रेस विज्ञप्तिमा हस्ताक्षर गरोस् । तराई–मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले विज्ञप्तिको खाका कोरे सोही अनुसार विज्ञप्ति जारी भयो । गठबन्धनका अन्य नेताहरुको हस्ताक्षरसमेत भएन ।
बैठकमा सहभागी नेताहरुले हुलाकी न्यूजसँग कुराकानी गर्दै गठबन्धनका नेतृत्वहरु आन्दोलनको मुडमा नभएको बताए । ती नेताले भने,‘गठबन्धनका केही नेताहरु जसरी पनि मधेशी मोर्चासँग गठजोर गरेर आन्दोलनमा देखिन चाहान्छन् ।’
तस्करीको भोज, नेताहरुको मोज
स्थानीय पत्रकारहरुले हुलाकी न्यूजलाई दिएको जानकारी अनुसार गठबन्धनको बैठक गर्न आएका नेताहरु तस्करीको भोजमा मस्त भए ।
बीरगञ्ज नाकामा सर्वसाधारण मधेशीहरुले धर्ना दिइरहेका बेला केही नेताहरु संगठित तस्करीमा लागेको आरोप स्थानीय व्यापारीहरुको छ । जसमा राष्ट्रिय मधेश समाजवादी पार्टीका नेता राजेश मान सिंह सबभन्दा अगाडि रहेका छन् ।
पत्रकारहरुले दिएको जानकारीअनुसार रामसपाका नेता सिंहले हाल पनि आन्दोलनकारीलाई छक्याउँदै तस्करी जारी राखेका छन् ।
बीरगञ्ज पुगेका गठबन्धनका नेताहरुलाई तस्करीकै पैसाले नेता सिंहले भतेर गरेको स्थानीय पत्रकारहरुले सुनाए ।



