
डा.राकेश यादव
‘जागु जागु यौउ भैया मधेशी, खस शासक भुझैय बिदेशी..’
मधेशमा शीतलहरले यौवन चुमेको बेला भैरहवास्थित मेडिकल कलेजको गेट अगाडिको चिया पसलमा यो स्तम्भकार बसेको टेबलको अर्को पट्टि एक अपरिचित नवयुवकले चियाको चुस्किहरुको बिच बिचबीचमा गुन्गुनाउंदै थिए ,‘जागु जागु यौउ भैया मधेशी, खस शासक भुझैय बिदेशी..’ अर्थात ‘जाग–जाग हे मधेशी दाजु–भाईहरु, खस शासकले त हामीलाई बिदेशी पो ठान्दैछन् ..’
कोट, पाइन्ट, टाईमा सजिएका, आकर्सक व्यक्तित्व भएका, छेउमा ठूलो कालो रंगको ‘साइड ब्याग’ झट्ट हेर्दा एम.आर. जस्तो लाग्ने उनीसंगै अरु पनि एक जना थिए त्यहाँ । तर यी सब कुराको भने मलाई खासै वास्ता थिएन । उनीहरुप्रति मेरो ध्यान त ती युवकले गुनगुनाएको गीतले तानेको थियो । ५ औं महिनामा चलिरहेको मधेश आन्दोलन यता मधेशको गाम, सहर, चौकचौराहा जहाँ कतै अति लोकप्रिय रहेको गीतको बोल थियो त्यो । आजकल मधेशका चिया र पान पसलहरुमा बिहान बिहानै ‘ओम जय जगदीश हरे…’ बजाउन भले हि बिर्सून, तर यो गीत भने पक्का बजाइन्छ । गीतको बोलको मर्म र यसले बोकेको मधेशीहरुको भावनाको चर्चा एकै छिनमा गरौंला ।
हाम्रो घर कहाँ होला ?, मैले सोधें ?
उनले भने, सर, हामी त पुर्बी नेपालका हौँ । ३ महिना भयो, यहाँ बुटवल रहेर एम.आरको जागिर गर्दै आएका छौं । मेरो स्थाई घर त सुनसरी जिल्ला हो, अनि उहाँ (छेउको साथीलाई देखाउदै) झापाको राजबंसी जी ।
(सायद मैले लगाएको एप्रोन अनि गर्दनमा भिरेको स्टेथोस्कोप देखेर होला, उनले मलाई ‘सर’ भनेर सम्बोधन गरेको )
अनि तपाई नि ? मैले उनको नाम सोधें ।
‘नाजिम खान’, उनले भने ।

ये साथि पो पर्नु भएछ । नाजिम भन्ने मेरो स्कूलको एक जना मिल्ने साथि हुन्, मैले यसो भनेको सुनेर उनी अलि सहज हुँदै मुसुक हाँसे ।
अनी के छ त खबर मधेश को ? मैले जानी जानी सोधें ।
लडाई जारि छ । बाँकी त सब जाग जाहेरै छ नि सर ।
के का लडाई हो नि यो, अनी कोसँग हो नि ? मैले अलि चासो राखी सोधें ?
हाहा…सरले पनि सरकार र सत्तापक्षले बोल्दै आएको बोलि बोल्नुभयो । खैर, सोध्नु भो, भन्दिहालौं । मधेशी, थारु, आदिबासी जनजातिहरु आफ्नो हकअधिकार, पहिचान र सम्मानका लागि लड्दैछन । लडाई यसैको लागि हो । लडाई सरकारसंग हो, काठमाडौंसंग हो ( मैले राजनैतिक रुपमा काठमाण्डौ भन्न खोजेको हो सर ) उनले भने ।
लौ किन र , मधेशी–थारुहरुलाई अधिकार दिईएको छैन र ? मैले जिज्ञासापूर्ण भएर सोधें ।
छैन, मधेशी–थारु आदिका लागि यथोचित अधिकार र सम्मान छदैछैन नेपालमा । फेरी यो कुरा आजको मात्रै हैन । पुस्त दरपुस्तबाट चलिआएको समस्या हो । मधेशको समस्याहरु तात्कालिक मात्र हैन । त्यसैले समस्याहरुको जरो, इतिहास र कारणहरु पहिल्याउनै पर्छ म तपाईंलाई एक से एक उदाहरणहरु दिन सक्छु कसरी मधेशलाई राज्यले अपनत्वको आभास हुन दिएन, बिगत र बर्तमान दुबैमा ।
नागरिकताको सवाल
प्राचिन नेपालको सिमाना, पछि भएको राज्य बिस्तार र सुगौली सन्धि पछी कायम रहेको हालको आधुनिक नेपालको सिमानाको बारे धेरै चर्चा गर्न परेन । तर अहिलेको नेपाल भित्र जब नागरिकता प्रमाणपत्रको थालिनी भयो, हुनु के पथ्र्यो भने नेपालका हरेक जनताले नागरिकता पाउन पथ्र्यो । ख्याल गरि दिनु होला मैले नेपालीले भनेको छु । त्यसबेलादेखि नै नागरिकताका प्रावधानहरु यदि कसैका लागी जटिल थियो भने त्यो मधेशी, मुस्लिम, थारुहरुका लागि थियो र छ ।
सन् १९६२ को नेपालको संविधानले नागरिकता प्रमाणपत्रको हकमा के भनिदियो भने नेपाली नागरिकता पाउनका लागि निजले नेपाली भाषा बोल्न जानेको हुनु पर्छ या निज नेपाली भाषी हुनु पर्छ । यस्तो किसिमको संबैधानिक प्रावधानले त्यसबेलाको बहुसंख्यक मधेशी, थारुहरु बहिस्करणमा परे, नागरिकता पाउनबाट बञ्चित भए किनकी न उनीहरुले नेपाली भाषा जानेका थिए न त नेपाली भाषी नै थिए ।
स्मरण रहोस, पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका मधेशी–थारुहरु मैथिली, भोजपुरी, अवधि, हिन्दी आदि भाषी थिए र हुन् । नेपाली भाषा त अध्ययनको क्रममा सिकेका थिए र हुन्छन् । सन् १९६२ को दसकतिर मधेशमा मात्र हैन राजधानीसमेतका सैक्षिक संस्थाहरुमा हिन्दी भाषाको राम्रो उपस्थिति थियो भने, मधेशको सैक्षिक संस्थाहरुमा अपवाद बाहेक सबै हिन्दी भाषामा पठन–पाठन गराईन्थ्यो । तसर्थ, पढेलेखेका मधेशी–थारुहरु (जो एकदमै न्यून संख्यामा थिए) ले पनि र अशिक्षितहरुले पनि यी यावत कारणले नेपाली भाषा जान्दैन्थे । फलतः नागरिकता पाउनबाट बन्चित भए ।
भाषामा आधारित त्यो विभेदकारी नीति मधेशीहरुको लागि यतिसम्म अहितकर थियो कि जन्मौजन्मदेखि नेपालको भूमिमा रहेका मधेशीले नेपाली भाषा नजानेकै कारणले नागरिकता नपाउने तर नेपाली भाषा बोल्ने भारतका दारजलिंग, मणिपुर, सिक्किम, सिलोम आदिका भारतीयहरु मात्र नई भुटानीहरुले समेत नेपाली भाषा जानेकै आधारमा मधेशीले भन्दा सहज तरिकाले नेपाली नागरिकता पाउथे ।
मधेशीहरुलाई संबैधानिक रुपले नै अनागरिक बनाउने क्रम त्यहीबाट सुरु भयो ।
तर त्यसबेला यो समस्या ठूलो मुद्दा बनेन । त्यसका अनेक कारणहरु थिए । मुलत नागरिकता प्रमाणपत्रको आवश्यकता पर्ने ब्यबस्था र ठाउँहरु त्यतिखेर स्थापित र ब्यबस्थित भैसकेको थिएन । जस्तै चुनाबी प्रकृयाहरू स्थापित भैसकेको थिएन, बैंक तथा बितिया कारोबारहरू जहाँ नागरिकता प्रमाणपत्रको आवश्यकता पर्दछ कि त शहर केन्द्रित थिए कि त स्थापित भैसकेको थिएन । त्यतिखेर नागरिकता प्रमाणपत्रको जरुरी प्रायः जग्गा जमिनको लालपुर्जा बनाउनका लागि पर्दथ्यो । रोचक कुरा के भने बहुसंख्यक मधेशीहरु भूमिहीन, सुकुम्बासी थिए । त्यसैले नागरिकता प्रमाणपत्रको आवश्यकता नै खासै महसुस गरेनन ।
जसै जसै बितिय कारोबारहरू फस्टाउँदै गयो, बैंकसंगको कारोबारमा जनताको पहुच हुँदै गयो, जग्गा जमिनको लालपुर्जाको महत्व थाहा हुँदै गयो, मधेशीहरुले पनि नागरिकताको आवश्यकता महसुस गर्दै गए । अझ मधेशमा बर्षेनी हुने गरेको बाढीले डुबान, आगलागी आदि जस्ता विपतको बेला सरकारले बाँड्ने राहत पाउनसमेत नागरिकता अनिवार्य हुने भए पछी बल्ल मधेशीहरुले नागरिकता प्रमाणपत्रको महत्व बुझ्न थाले ।
तर सन् १९६२ को संबिधानको प्रावधानले नागरिकता पाउनबाट बन्चित र आवश्यकता महसुस नगरेर नागरिकता नलिएकाहरु संख्या भने तबसम्म लाखौं भैसकेको थियो, अझै पनि समस्या टड्कारै छ । तर उहिले जस्तै अहिलेसम्म पनि यी यावत कारणहरुले नागरिकता नपाएका मधेशीहरुलाई भारतीय र बिहारी र आयातित मधेशी आदि–आदि जस्ता संज्ञा दिएर आफ्नै देशमा अनागरिक बनाइयो र बनाइदैछ ।
मैले यसो भनिरहँदा मलाई भारतीयलाई नागरिकता दिन वकालत गर्यो भन्ठान्नु होला । स्पष्ट के हुनु होला भने नि सर, कुनै पनि गैरनेपालीले नेपाली नागरिकता पाउँन हुँदैन भन्ने कुरामा म दृढ छु । तर नेपालका मधेशीहरुलाई कुनै पनि बहानामा अनागरिक बनाइनुलाई म कदापी स्वीकार गर्न सक्दिन ।
उनले यी सब भनिरहँदा म भने एकटक लगाएर सुनि मात्र रहेको थिए । उनको बोलिमा एक अभूतपूर्ब बिश्वास र दृढसंकल्प महसुस गर्न मलाई गार्हो थिएन । मैले अझै सुन्दै गएं, उनले भन्दै गए
क्रमसः
लेखक : हाल भैरहवामा चिकित्सा पेसामा छन् । कभर फोटो : अलजजिरा




Yek dam sahi