
हुलाकी न्यूज, जनकपुरधाम १८ माघ । सोमबार विहानैदेखि जनकपुरधाम पूर्ण रुपमा ठप्प रहेको छ । मधेशवादी दलको बन्द आह्वानका कारण जनजीवन प्रभावित बनेको छ ।
नेपाली काँग्रेसले आफ्नो कार्यक्रम गराउन प्रहरी प्रयोग गरी मधेशीहरुमाथि दमन गराएको मधेशवादी दलको आरोप रहेको छ । नेपाली कांग्रेसका सांसदले मधेशीको भावना विपरीत गाउँ तथा नगर अधिवेशन गराउन जिल्ला प्रवेश गरेर प्रहरी प्रयोग गरी दमन गराएको भन्दै मधेशवादी दलले जनकपुर बन्द गराएको हो ।
मोर्चाको बन्दका कारण बिहानैदेखि जनकपुरका शिक्षण संस्था, बजार व्यावसाय, यातायात, कलकारखानासहित सम्पूर्ण क्षेत्र प्रभावित भएको छ । प्रदर्शनकारीहरु विभिन्न चोकमा प्रदर्शन गर्दैछन् ।
आइतबार काँग्रेस नेतृ तथा सांसद लीला कोईराला निवास अगाडि मोर्चाको प्रदर्शनको क्रममा प्रहरीले अवरोध गरेपछि प्रहरी र प्रदर्शनकारीबिच झडप भएको थियो । त्यस क्रममा आधा दर्जन प्रदर्शनकारी घाइते भएका थिए ।



