
हुलाकी न्यूज, १७ माघ । मधेसी मोर्चाद्वारा दिइएको समयभित्र काँग्रेस नेतृ लीला कोईरालाले निवास तथा जिल्ला नछाडेको भन्दै सो विरुद्ध आन्दोनलकारीले आईतवार जनकपुरको थापाचोक स्थित उनकै निवास अगाडी प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच दिनभर दोहोरो ढुंगामुढा भएको जनकपुरका पत्रकार शैलेन्द्र महतो क्रान्तीले जनाएका छन् ।

सोहि क्रममा थापाचोकमा बाटो हिड्दै गरेका एक जना निर्दोष युवकलाई प्रहरीले निर्ममता पूर्वक कुटेका छन् । झडपकै क्रममा कैयौँ आन्दोलनकारी समेत घाइते भएका छन् । घाइतेहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।
नेपाली कांग्रेसको जारी महाधिवेशनमा जनकपुरमा मोर्चाले अवरोध गरेको छ । जनकपुरको थापाचोक स्थित कांग्रेस नेतृ तथा सांसद लिला कोइराला अधिवेशन स्थल जाने क्रममा मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गरेका हुन ।
अवरोध पछि कोइरालाको सुरक्षामा खटिएका प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएको हो । केन्द्रीय सदस्य समेत रहेका सांसद कोइरालालाई स्कटिंग गरेर लैजाने क्रममा आक्रोशित मोर्चाका कार्यकर्ताले नेपाली सेनाको गाडीमा समेत तोड़फोड गरेको स्थानीयले जनाए ।
धनुषा क्षेत्र नम्बर ४ का सांसद कोइरालालाई नेपाली सेनाले स्कटिंग मार्फत अधिवेशन स्थल लगेका हुन् । कोइरालालाई अधिवेशन स्थल लैजादै गर्दा मोर्चाका कार्यकर्ताले जय मधेसको नारा लगाएका थिए । सोही क्रममा सेनाको गाडीमाथि ढुंगा–मुढा समेत प्रहार गरिएको थियो ।
त्यसै गरि धनुषाको मुजेलिया प्रहरी चौकी नजिक समेत झड़प भएको हो ।



