
नारायण भण्डारी, तुलसीपुर १७ माघ । थारुहरुले माघी नाचबाट संकलन गरिएको रकमले नाला बनाएका छन् । तुलसीपुर नगरपालिका–४ मोतीपुरका स्थानीयहरुले नगरपालिकाको स्टिमेटभन्दा दोब्बर काम गरेका छन् ।
एकता टोल विकास संस्थामा ८७ मिटर नाला निमार्णका लागि नगरपालिकाबाट आएको तीन लाख बजेटले एक सय ७० मिटर नाला निर्माण गरेको निर्माण समितिका अध्यक्ष दामु चौधरीले जानकारी दिए । टोलवासीको श्रमदान तथा विभन्न संघ–संस्थाहरुको नगद सहयोगमा प्राविधिकको स्टिमेटभन्दा दोब्बर काम गरेको अध्यक्ष चौधरीले बताए ।
तुलसीपुर–घोराही सडक खण्ड अन्र्तगत मोतीपुरको लोकतान्त्रीक गेटबाट तमाखे हुँदै राप्ती शान्तिपार्क गणेशपुर जोड्ने सडकमा पक्की नाला निर्माण गर्न उपभोक्ताहरुले साढे दुई लाख बराबरको श्रमदान गरेको एकता टोल विकास संस्थाका अध्यक्ष छोटीलाल थारुले जानकारी दिए ।
स्थानीय थारु समुदायले माघीको नाचबाट संकलन गरेको रकम पनि नाला निमार्णमा लगाएका छन् । नाचबाट संकलन भएको रकमले नाला निर्माणका लागि आठ बोरा सिमेन्ट खरिद गरेको अध्यक्ष थारुले बताए ।
नाला निमार्णका लागि स्थानीय चेतना महिला समूहले ८० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको टोलका सदस्य शान्ति चौधरीले जानकारी दिइन । नाला निर्माण गर्दा आवश्यक पर्ने २५ हजार रुपैयाँ बराबरको पानी स्थानीय ब्यवसायी घिरज पोख्रेलले उपलब्ध गराएका थिए ।



