Barta-madheshi-morcha-three-party

एमाओवादी अध्यक्ष प्रचण्ड र तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीबीच बुधबार अनौपचारिक छलफल भयो । त्रिपाठीले तीन दल र मोर्चाबीचको वार्ता प्रक्रियालाई गति दिन प्रचण्डसँग आग्रह गरे । तर, यसबीचमा तीन दलले मोर्चासँग अनौपचारिक छलफलसमेत गरेका छैनन् । ‘प्रधानमन्त्रीले वार्ता भाँडेपछि अनौपचारिक वार्ताको वातावरणसमेत बनेको छैन,’ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नयाँ पत्रिकासँग भने । कांग्रेस उपासभापति रामचन्द्र पौडेलले तीन दलबीच अनौपचारिक वार्ता नभएको उल्लेख गर्दै वार्ता भइहाल्ला कि भनेर आफू काठमाडौंमै बसेको बताए । ‘मैले प्रचण्डजीसँग भेट गरी कुराकानी गर्न खोजिरहेको छु, तर तत्काल वार्ता हुने छाँट छैन,’ पौडेलले भने ।

वार्ताको साइत जुराउनै मुस्किल

तीन दल र मोर्चाबीच ९ माघपछि अनौपचारिक छलफलसमेत भएको छैन । दुवै पक्षलाई वार्ताको साइत जुराउनै मुस्किल परेको छ । अहिलेसम्मको अवस्था हेर्दा तत्काल वार्ताको सम्भावना नरहेको तीन दल र मोर्चाका नेताहरूको भनाइ छ । दुवै पक्षमा अविश्वासको वातावरण अर्कोतिर कांग्रेस महाधिवेशनमा लागेकाले पनि तत्काल वार्ताको सम्भावना नदेखिएको हो । ‘कांग्रेस अहिले महाधिवेशनको तयारीमा स्थानीय अधिवेशनमा व्यस्त छ, उसको व्यस्तताका कारण तत्काल वार्ता हुने सम्भावना छैन,’ सरकारी कार्यदलका सदस्य तथा कानुनमन्त्री अग्नि खरेलले भने । उनका अनुसार २५ माघअघि वार्ता हुने सम्भावना छैन । कांग्रेस २५ माघसम्म पार्टीका स्थानीय अधिवेशनमा व्यस्त भएकै कारण २८ गतेसम्मलाई संसद् बैठकसमेत स्थगित गरिएको छ । मोर्चाका नेता राजेन्द्र महतोले पनि २५ माघयता वार्ताको सम्भावना कम रहेको बताए । ‘कांग्रेस महाधिवेशनमा लागेका कारण तीन दल वार्ताको तयारीमा देखिँदैनन्,’ महतोले नयाँ पत्रिकासँग भने ।

तीन दलसँग वार्तामा बस्ने एजेन्डा छैन

मोर्चासँगको वार्ताका लागि तीन दलले अहिलेसम्म कुनै तयारी नै गरेका छैनन् । वार्ताको वातावरण बनाउन अनौपचारिक छलफल गरी कुन–कुन एजेन्डामा मोर्चासँग छलफल गर्ने भनी सूची तयार पार्नुपर्नेमा यसतर्फ तीन दलले चासो देखाएका छैनन् । ‘कुन–कुन एजेन्डामा छलफल गर्ने हो, त्यसमा तीन दल प्रस्ट देखिँदैनन्, त्यसले वार्ताको दिन लम्ब्याउँछ,’ फोरम अध्यक्ष यादवले भने । ११ बुँदेमध्ये सामाजिक न्याय र निर्वाचन प्रणाली गरी दुईवटा बुँदा ९ माघको संविधान संशोधनसँगै सम्बोधन भएको तीन दलको भनाइ छ । तर, मोर्चा यो कुरा मान्ने पक्षमा देखिएको छैन । 

नाकाबन्दी के हुँदै छ ?

मधेसी मोर्चा तत्काल नाकाको धर्ना अन्त्य गर्ने मनस्थितिमा देखिँदैन । तत्काल नाका खोलिहाल्ने पक्षमा मोर्चा नरहेको सद्भावना पार्टीका महामन्त्री मनीष सुमन बताउँछन् । ‘आन्दोलनका माग सम्बोधन नभई के आधारमा किन नाका खोल्ने ?’ सुमनले नयाँ पत्रिकासँग भने ।

मोर्चाको सचिवालय बैठक बस्दै

मधेसी मोर्चाको सचिवालय समितिको बैठक आइतबार बस्दै छ । बैठकमा समग्र आन्दोलनको समीक्षा हुने सुमनले बताए । ‘नाकाबन्दीदेखि समग्र आन्दोलनको समीक्षा, भावी कार्यनीति, गठबन्ध निर्माणलगायतका विषयमा बैठक केन्द्रित हुनेछ,’ सुमनले भने । तीन दलले वार्ताका लागि बोलाएको अवस्थामा जुनसुकै वेला वार्ताका लागि तयार रहेको उनले बताए ।

सीमांकनको छलफल गर्न समिति बैठक

सीमांकनलगायतका मधेसी मोर्चाका मागका विषयमा एमाओवादी अध्यक्ष प्रचण्डले शनिबार प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका छन् । सत्तारुढ पार्टीहरूको उच्चस्तरीय राजनीतिक समितिमा मोर्चाको मागबारे छलफल गर्न ओली र प्रचण्डबीच सहमति भएको छ । दुई नेताबीच मधेसी मोर्चाको प्रदेशको सीमांकनसम्बन्धी माग सम्बोधन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे पुन: सहमति भएको छ । ‘प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच मधेसी मोर्चाको माग उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएरै सम्बोधन गर्ने सहमति भएको छ,’ प्रचण्डका सचिवालय सहयोगी प्रकाश दाहालले भने । राजनीतिक संयन्त्र बनाएर मोर्चाको सीमांकनसम्बन्धी माग सम्बोधन गर्नेबारे थप छलफल गर्न उच्चस्तरीय राजनीतिक समितिका संयोजक प्रचण्डले आइतबार बिहान समितिको बैठक बोलाएका छन् ।

प्रचण्डले मोर्चासँग पनि छलफल गर्ने

एमाओवादी अध्यक्ष प्रचण्डले आइतबार मधेसी मोर्चाका नेताहरूसँग छलफल गर्ने भएका छन् । उनको सचिवालयले मोर्चाका नेताहरूसँग छलफलका लागि वातावरण तयार पारिरहेको छ । सचिवालयका एक सदस्यका अनुसार प्रचण्डले आइतबार उच्चस्तरीय राजनीतिक समितिको बैठकपछि मोर्चाका नेताहरूसँग अनौपचारिक छलफल गर्नेछन् । उनले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गर्ने प्रयास गरिरहेका छन् । ठाकुर स्वास्थ्योपचारपछि दिल्लीबाट काठमाडौं फर्किसकेका छन् । यसअघि प्रचण्ड र तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीबीच भएको छलफलमा ठाकुर दिल्लीबाट फर्केपछि वार्ता गर्ने सहमति भएको थियो ।

नयाँ पत्रिकाबाट / फाईल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.