
रंजन भण्डारी, जलेश्वर १६ माघ । महोत्तरी जिल्लाको अस्पतालहरुमा औषधि अभावले विरामीहरु मर्कामा परेका छन् । महोत्तरी सदरमुकामभित्रको एकमात्र सरकारी अस्पताल जलेश्वर अस्पतालमा अहिले अतिआवश्यक औषधीको अभाव छ ।
जिल्लाका २ मुख्य अस्पताल र ६८ स्वास्थ्यचौकी विगत ६ महिनादेखिको बन्दले प्रभावित हुँदा अस्पतालमै निःशुल्क उपलब्ध हुने औषधि विरामीले पैसा तिरेर किन्न वाध्य बनेका छन् ।
मधेशमा आन्दोलनरत पक्षले विरामी, वृद्ध, औषधिलगायतमा प्रतिबन्ध नलगाएपनि विभिन्न कारणले हाल जलेश्वर अस्पताललगायत जिल्लाका सवै स्वास्थ्यचौकीमा औषधिको चरम अभाव देखिएको हो ।
हाल यहाँ सिटामोल, भिटामिन बाहेक एन्टीवायोटिकलगायतका सम्पूर्ण औषधिको अभाव देखिएको हो । सर्पले टोक्दा लगाउने सुई तथा कुकुरले टोक्दा लगाउने सुई भने अस्पतालमा रहेको डा.राजिव झा बताउँछन् ।

बन्दले अस्तव्यस्त रहेको स्वास्थ्यका काम तथा औषधि खरिद सम्बन्धी सम्झौतासमेत समाप्त भएका कारण औषधि अभाव भएको जिल्ला स्वास्थ्य प्रमुख मनिष पाण्डेयले हुलाकी न्यूजलाई बताए । १० देखि १५ दिनमा औषधिको समस्या समाधान गर्न आफु तत्पर रहेको र सो सम्बन्धी कार्यसमेत थालनी भैसकेको प्रमुख पाण्डेयले बताए ।
यता वार्षिक ४० देखि ४२ लाखको १० देखि १२ शिर्षकमा औषधि किन्नु परेको र सबै शिर्षकमा पर्याप्त औषधि अपुग हुने हुनाले समेत एक्कैै पटक ठूलो परिमाणमा औषधि किन्न नसकिएकोले समय समयमा औषधी अभाव हुने गरेको प्रमुख पाण्डेय थप्छन् ।
उनले समय सापेक्ष विरामीको संख्या बढेकोले समेत औषधि खरिदमा बजेट बढाउनु आवश्यक रहेको बताउँछन् ।
स्थानीयहरुले समेत विगतका दिनमा चिसो बढेको र चिसो छल्न स्थानीय स्तरमा सरोकारवालाहरुले उचित व्यवस्थापन नगरेका कारण दैनिक ज्यालादारी मजदुरहरु बढी विरामी हुने गरेको बताउँछन् ।
आर्थिक विपन्नहरुलाई सरोकारवाला निकायहरुले न्यानो कपडा, दाउरालगायतका सामग्री वितरण तथा सदरमुकाम एवं ग्रामिण भेगमा चिसोबाट बच्न जनजेतना अभियान चलाउनु पर्नेमा सो नभएकै कारण जनताले दुःख भोग्नु परेको जनगुनासो छ ।



