
हुलाकी न्यूज, काठमाडौं १६ माघ । मधेशीहरुको महागठबन्धन बनाउन आवश्यक रहेको तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।
शनिबार संघीय समावेशी मधेशी गठबन्धनका नेताहरुसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले आन्दोलन सफल बनाउन महागठबन्धन आवश्यक रहेको बताएका छन् ।
मधेशमा महागठबन्धन बनाउन पहल स्वरुप गठबन्धनका नेताहरु अध्यक्ष ठाकुरलाई तराई–मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा भेटेका थिए ।
भेटपछि मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले हुलाकी न्यूजसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरसँगको भेटघाट सकारात्मक रहेको बताए ।
यादवका अनुसार अध्यक्ष ठाकुरले महागठबन्धन बनाउने विषयमा मधेशी मोर्चामा छलफल गर्ने विश्वास व्यक्त गरे ।
ठाकुरलाई उधृत गर्दै यादवले भने,‘आन्दोलन लम्बिएकोप्रति हामी पनि चिन्तित छौं । आन्दोलनलाई सफल पार्न महागठबन्धन बनाउन आवश्यक छ । त्यसको लागि म मधेशी मोर्चामा छलफल गर्नेछु ।’




