
हुलाकी न्यूज, काठमाडौं, २३ भदौ । मधेशमा जारी आन्दोलनको क्रममा सुरक्षाकर्मीले गैरकानुनी तवरले बल प्रयोग गर्दै आएको भन्दै तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) ले आपत्ति जनाएको छ ।
बुधबार प्रहरीको गोली लागि महोत्तरीको जलेश्वरमा तीन जना र सप्तरीको भारदहमा एक जनाको मृत्यु भएपछि विज्ञप्ति जारी गर्दै थर्ड एलायन्सले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
थर्ड एलायन्सका मानवअधिकार अधिकृतद्वय रक्षाराम हरिजन र रन्धिर चौधरीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘सुरक्षाकर्मीले नेपालको प्रचलित ऐन, कानुनको विपरित हुने गरी गरेको गैरकानुनी बल प्रयोग गर्दै आएको कार्यको घोर भत्र्सना गर्दछौं ।’
संविधानमा आफ्नो अधिकारको माग गर्दै मधेशी मोर्चा र थरुहट मोर्चाले संयुक्त रुपमा विगत २६ दिन देखि मधेश बन्द, सभा, जुलुस लगायतका आन्दोलनका कार्यक्रमहरु गर्दै आएकामा शान्तिपुर्ण आन्दोलनमा समेत सुरक्षाकर्मीहरुले अत्याधिक बल प्रयोग गरेको अनुगमनमा देखिएको थर्ड एलायन्सले जनाएको छ ।
विज्ञप्तिमार्फत थर्ड एलायन्सले निरन्तर जारी भइरहेको कफ्र्यु आदेश र निषेधाज्ञाले सर्वसाधारणको जनजीवन असामान्य हुँदै गएको र सेना परिचालनले त्रासको वातावरण सृजना भएको प्रति राज्यको ध्यानाकर्षण गराएको छ ।
अनुगमनमा प्रहरीले प्रायः सबैलाई घुँडा भन्दा माथि गोली हानेको देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सर्वाेच्च अदालतले पनि आन्दोलनको क्रममा कानुन विपरित बल प्रयोग भएको भन्दै दायर रिट निवेदनमा प्रधानमन्त्री, गृह मन्त्री समेतको नाउँमा कारण देखाउ आदेश जारी गरेको अवस्थामा राज्यले बल प्रयोग गर्दा प्रचलित कानुन र सर्वमान्य सिद्धान्तको विपरित हुने गरी बल प्रयोग नगर्न थर्ड एलायन्सले सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ ।
एलायन्सले घाइतेहरुको उपचारको व्यवस्था गर्न तथा मन्त्रिपरिषदबाट तत्काल निर्णय गराई मृतक परिवारलाई आवश्यक क्षतिपुर्ति उपलब्ध गराउन माग गरेको छ । उसले आन्दोलनकारीलाई पनि संयमित रहन अपिल गरेको छ ।



