
हुलाकी न्यूज, काठमाडौं १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ५१ वर्षदेखि मानव अधिकारको अभियानमा लागेको दाबी राष्ट्रिय मानव अधिकार आयोग सामु गरेका छन् ।
मंगलबार प्रधानमन्त्रीलाई भेट्न गएको आयोगको टोलीलाई ओलीले भने,‘माव अधिकार बहाली हुनुपर्छ भनेर म १४ बर्ष जेल बसें । र ५१ बर्षदेखि त्यही अभियानमा निरन्तर छु । त्यसकारण अभियानमा मेरो सदैव साथ रहन्छ ।’
मधेशी मोर्चालाई लक्षित गर्दै प्रधानमन्त्रीले भने, ‘पछिल्लो समयमा संगठित दस्ताले असंगठित नागरिकलाई धम्क्याउने, लुट्ने र हत्या गर्ने क्रम पनि बढेकोले यसप्रति गम्भिर हुनुस्, संगठित गिरोहबाट असंगठित नागरिकका मानवअधिकार हनन् बढेका छन् । त्यसलाई रोक्नु प¥यो । ’
‘गैर राज्य पक्षबाट असुरक्षा महसुश भए भन्नुस् तपाँइहरुको सुरक्षामा सरकार गम्भिर छ ।’ ओलीले भने ।
यता लामो समयदेखि तराई मधेशमा जारी आन्दोलनको क्रममा सर्वसाधारण तथा सुरक्षाकर्मीको हत्या भएको तथा नागरिकको स्वतन्त्रापूर्वक बाँच्न पाउने अधिकार हनन् भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका अध्यक्ष तथा सदस्यहरुले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी मानव अधिकार हनन्का घटनाहरु पछिल्लो समयमा बढ्दै गएको तर्फ सरकारको ध्यानाकर्षण गराएको आयोगकी प्रवक्त मोहना अन्सारीद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।



