
हुलाकी न्यूज, काठमाडौं १२ माघ । मधेशका सशस्त्र समूहहरुसँग सरकारले वार्ता गर्ने तयारी गरेको छ ।
पछिल्लो समय सशस्त्र समूहहरु सक्रिय हुन थालेपछि सरकारले वार्ताको तयारी गर्न लागेको हो ।
राष्ट्रिय समाचार समितिका अनुसार शान्ति तथा पुनःनिर्माण मन्त्रालयको अग्रसरतामा सरकारले वार्ता अगाडि बढाउन लागेको हो ।
शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकालले मन्त्रिपरिषद्को आगामी बैठकबाट त्यस्ता समूहसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन हुने जानकारी दिए ।
मुलुकमा पूर्ण रुपमा शान्ति र सुव्यवस्था कायम गरी विकासको गतिलाई तीव्र तुल्याउँदै समृद्धितर्फ अघि बढ्नुपर्ने भएकाले भूमिगत समूहका जायज मागलाई पूरा गर्ने तथा सम्बोधन गर्न नसकिने माग कारणसहित पूरा गर्न सकिँदैन भनेर वार्ताको क्रममा स्पष्ट जवाफ दिने मन्त्री ढकाललाई उदृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएको छ ।
वार्ता गर्न आवश्यक गृहकार्य, बजेट, विधि र प्रक्रियाबारेमा छलफल भइरहेको छ । वार्ता गर्न समन्वय गर्ने समन्वयकर्ता (विज्ञ)को समेत व्यवस्था मिलाउन मन्त्रालय लागिपरेको मन्त्री ढकालले बताए ।



