
हुलाकी न्यूज, काठमाडौं १२ माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, संघीय समावेशी मधेशी गठबन्धन तथा थरुहट–थारुवान संयुक्त संघर्ष समितिलाई समेटेर महागठबन्धन निर्माणको प्रक्रिया सुरु भएको छ ।
महागठबन्धन निर्माणका विषयमा मंगलबार विराटनगरमा मोर्चाका तर्फबाट सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र गठबन्धनका तर्फबाट तमरा अभियानका संयोजक जेपी गुप्ताबीच औपचारिक रुपमा छलफल भएको छ ।
दुबै नेताबीच मधेशी–थारुको महागठबन्धन निर्माणका आधारभूत कुरामा छलफल भएको नेता गुप्ताले हुलाकी न्यूजलाई बताए ।
गुप्ताले भने,‘हामीबीच महागठबन्धन निर्माणका विषयमा औपचारिक रुपमा छलफल भएको छ । महतो जीले मोर्चाका अन्य नेताहरुसँग छलफल गरेर यसलाई मुर्तरुप दिने विश्वास व्यक्त गर्नु भएको छ ।’
गुप्ताका अनुसार महागठबन्धनमा आन्दोलनमा सक्रिय रहेका सम्पूर्ण पक्षलाई समेटेर अगाडि बढ्ने वातावरण बन्दै गएको छ । मोर्चा एक्लैले वा गठबन्धन एक्लैले आन्दोलनलाई सफल पार्न सक्ने अवस्थामा नरहेकोले महागठबन्धन आवश्यक रहेको गुप्ताले दाबी गरे ।
यता समाचार श्रोतका अनुसार राजेन्द्र महतोले अन्य संगठनहरुलाई मोर्चामा ल्याउने प्रयास गरेपनि उपेन्द्र यादवको असन्तुष्टिका कारण हुन सकेको थिएन । यसपटक उपेन्द्र यादवले महागठबन्धन निर्माणमा असहमति जनाएपनि उपेन्द्र बाहेकका शक्तिहरुबीच तालमेल हुनेछ ।



