
हुलाकी न्यूज, विराटनगर ११ माघ । मोरङ्गको रङ्गेलीमा प्रहरी तथा युवा संघद्वारा मारिएकाहरुको शव यात्रा आज निकालिदैछ ।
आइतबार स्थानीय प्रशासन र मधेशी मोर्चाबीच सहमति भएपछि सोमवार शवयात्रा निकाल्न लागिएको हो । शव यात्रा पश्चात अन्त्येष्टि गरिनेछ ।
जिल्ला प्रशासन कार्यालय मोरङ्गमा आइतबार मधेसी मोर्चाका नेताहरुसहित बसेको सर्वदलीय बैठकमा मृत्यु भएका तीनै जनाको शव मोर्चाले बुझ्ने लिखित सहमति भएको छ । मृतकलाई सहिद घोषणा गर्न र घाइतेहरुको निःशुल्क उपचारका लागि गृहमन्त्रालयमा सिफारिस गर्नेसमेत सहमति भएको प्रमुख जिल्ला अधिकारी तोयम रायाले जानकारी दिए ।
मोरङ्गको रंङ्गेली घटनापछि मधेशी मोर्चासँग स्थानीय प्रशासनको पहिलोपटक छलफल भएको हो । गत बिहीबार रंङ्गेलीमा प्रहरीको गोलीबाट तीन जना मधेशी मारिएका छन् ।
तीनैजनाको शवको पोष्टमार्टम र एक्सरे गरिएको छ । मृतककहरुको शव कोशी अञ्चल अस्पतालको शवगृहमा राखिएको छ ।
मोर्चाका मोरङ्ग प्रवक्ता मोहम्मद कादिरले सोमवार बिहान १० बजे शव बुझ्ने र विराटनगरमा शवयात्रा गरिने जानकारी दिए । उनले रङ्गली र डाइनियामा समेत शवयात्रा गरिने र सोमवारै मृतकहरुको धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिने जानकारी दिए ।
शवयात्रामा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई–मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लासमेत सहभागी हुने जनाइएको छ ।
फाईल फोटो



