
हुलाकी न्यूज, काठमाडौं १० माघ । आइतबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको एक टोली राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय पुग्यो । मोर्चाका नेताहरुले भएभरका दुःख लिएर आयोगमा गए तर आयोगका अधिकारीहरुले आफ्नै दुःख सुनाए ।
मोर्चाको टोलीले दुई पृष्ठको ज्ञापन पत्र बुझाए, नेताहरुले कुरा पनि राखे । आयोगका अधिकारीहरुले भने,‘मधेश आन्दोलनमा बास्तबमै अत्याधिक बल प्रयोग भएको छ, हाम्रो अनुगमनले पनि त्यही देखाएको छ । सरकारलाई दुई–दुई पटक भनी सकेका छौं तर सुनेको छैन ।’
आयोगमा ज्ञापन पत्र बुझाएर फर्केका सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले हुलाकी न्यूजलाई भने,‘आज आयोगमा हामीले हाम्रा कुरा राख्यौं । आयोगका पदाधिकारीहरुले पनि आप्mना कुरा राखे । आश्वासन पनि दिए । सबै घटनाको छानविन हुने विश्वास पनि दिलाए ।’
कर्णका अनुसार आयोगले सरकारलाई दुई–दुई पटक भन्दासमेत सरकारले सुनेको छैन । सरकार दिनप्रति दिन मधेशीप्रति आक्रामक बनेको छ ।
कर्ण भन्छन्,‘राज्य दिनप्रति दिन क्रुर बन्दै गएको छ । मधेशीहरुलाई मार्न ओली सरकार उद्धत देखिएका छन् ।’





