
हुलाकी न्यूज, काठमाडौं १० माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र तीन दलबीचको वार्तामा मधेशी मोर्चालाई सर्तक रहन संघीय मधेशी मोर्चाले चेतावनी दिएको छ ।
सरकारले वार्ताको नाममा मधेश आन्दोलनलाई कमजोर पार्ने काम गरिरहेको हुनाले अब मोर्चाका नेताहरुले वार्तामा बस्दा सर्तक रहनु पर्ने संघीय मोर्चाले जनाएको छ ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै संघीय मोर्चाले दुई पक्षीय वार्ताको माध्यमबाट समस्याको निकास निस्कन असम्भव देखिएकोले अबको वार्तामा तेस्रो पक्षको सम्वय र अनुगमन हुनुपर्ने संघीय मोर्चाको निष्कर्ष रहेको छ ।
मधेशमा जारी लामो आन्दोलनलाई परिणाममुखी र निर्णायक बनाउन आन्दोलनरत सबै पक्षको एकताबद्धता अनिवार्य बन्न पुगेकोले अब तत्काल यसको लागि सबै पक्ष एकजुट भई आन्दोलनलाई अगाडी बढाउनुको कुनै विकल्प नरहेको मोर्चाको निष्कर्ष छ ।
मधेशमा भईरहेको आन्दोलनमा सरकार भिडन्तको रुपमा प्रस्तुत भईरहेकोमा अब मधेशी जनताले यस विषयमा गम्भीर भएर सोच्नु पर्ने बेला आएको संघीय मोर्चाले जनाएको छ । मोर्चामा लोक दल, बहुजन समाज पार्टी नेपाल, नेपाल समाजवादी पार्टी(लोहियावादी) र लोकतान्त्रिक पार्टी नेपाल रहेका छन् ।



