
अमरेन्द्र कुमार यादव, महेन्द्रनगर १० माघ । बिगत पाँच महिनाभन्दा अधिक समयदेखि जारी मधेश आन्दोलनका बाबजुद पनि अस्थायी ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगरले एक महिनामा एक लाख राजस्व संकलन गरेको छ ।
क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगरस्थित ट्राफिक पोष्टका इन्चार्ज हवलदार होम बहादुर खतिवडाले पुस महिनामा एक लाख राजस्व संकलन गरेको जनाएका छन् । जारी मधेश आन्दोलनको मौका छोपी ट्राफिक नयम उल्लङ्घन गर्ने सवारीसाधनको कारबाहीबाट पुस महिनामा मात्रै एक लाख राजस्व सङ्कलन गरिएको हबल्दार खतिवडाले जनाए ।
हवल्दार खतिवडाले दिएको जानकारी अनुसार पुस महिनामा १ सय ४२ ओटा सवारी कारबाहीमा परेका छन् । जसमध्ये एक चौथाई भारतीय गाडीहरु कारवाहीमा परेका छन् ।
आन्दोलनले गर्दा ट्राफिक नियमलाई पालना नगरी मनपरी सवारी साधन चलाउनेहरुमाथि निगरानि गर्न थालेपछि कम समयमा ५ सय र एक हजार गरी लाख रुपैैया संकलन भएको हवलदार खतिवडाले बताए ।
उनका अनुसार साउनदेखि आन्दोलन शुरु भएलगत्तै आफुहरु चेकजाँच बन्द गरि मौन रहेको र बन्दको कारण मोटरसाईकल चालकहरु बिना हेलमेट लगाई, लाईसेन्स नबोकी, तिन–चार जनासम्म सबार भई मनपरी हाक्दै गरेको कारण दुर्धटना हवात्तै बढ्न थाले छ । पछि उक्त दुर्घटनालाई न्युनीकरण गर्न स्थानीय राजनीतिकर्मी , नागरिक समाज, स्थानिय बुद्धिजीविहरुको सल्लाह सुझाव अनुसार आफुहरुले लगभग पुस १५ गतेदेखि चेकजाँच थालेपछि माघको पहिलो सप्ताहसम्म एक लाख राजस्व संकलन भएको उनले बताए ।



