
हुलाकी न्यूज, जलेश्वर ९ माघ । जारी मधेश आन्दोलनका क्रममा भाद्र २३ र २५ गते भएको घटनाको छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगको मिसन टोली शुक्रबार जलेश्वर पुगेको छ ।
छानबिनको क्रममा टोलीले पत्रकार र मानव अधिकारवादीहरुसँग छलफल गरेका छन् । जारी आन्दोलनमा प्रहरीको गोली लागि मारिएका अमित कापर, रोहन चौधरी, रामशिला देवी मण्डल, विरेन्द्र विच्छा, रामविवेक यादव र गणेश चौधरी तथा अज्ञात व्यक्तीहरुको आक्रमणबाट मारिएका सशस्त्रका असई थमन विश्वकर्माको मृत्युको पछाडीको यथार्थ घटना बारे बुझ्न टोली लागेका छन् । यसै क्रममा टोली मृतकका परिवार र घाईतेहरुसंग भेटेका छन् ।
महोत्तरीमा भएको घटनाहरुलाई नजिकैवाट नियालेका महोत्तरीका पत्रकारहरुसँग टोलीले घटना वारे बुझ्न खोज्दा पत्रकार घनश्याम भगतले आफु पुरै घटनाको प्रत्यक्षदर्शी भएको वताउदै भाद्र २३को घटना पश्चात आफुले नै एकजना साथीसंग सहयोग लिई रोहनलाई अस्पताल पुर्याएको सम्झे साथै रामशिला देवी मण्डललाई गोली लागे पश्चात आफु र पत्रकार रंजन भण्डारीलाई प्रहरीले धम्कीपूर्ण भाषा प्रयोग गरेर डराउदै सो ठाउँमा पुग्न नदिएको दुखेसो समेत पोखे ।
त्यसतै पत्रकार महेश दासले आन्दोलनका क्रममा आफुहरु असई विकको मृत्यु भएको ठाउँमा पुग्दा झण्डै ज्याननै जोखिममा परेको बताए । साथै उहाँले आन्दोलनको क्रममा मानव अधिकारवादीहरु उपस्थित भएको भए सम्भवत महोत्तरीमा यतिको क्षति नहुने गुनासो समेत गरे ।
पत्रकार राकेश प्रसाद चौधरीले समेत भाद्र २५ गते प्रहरीले फिल्मीशैलीमा नरसंहार नै गरेको बताउँदै आफु गणेश चौधरीको मृत्यु भएको स्थानमा पुग्दा लासको प्रकृतीले आफुलाई स्तव्ध बनाएको र सो घटना प्रहरीले प्रतिशोध साध्नलाई नै गराएको आशंका जताए ।
त्यसतै पत्रकार कमलेश मण्डलले आयोगको काम कार्यवाही सत्य तथ्यको आधारमा नभई सरकार खुसी पार्ने हिसावको मात्र रहेको गुनासो गर्दैै कसैलाई खुसी पार्न नभई सत्य तथ्य पहिचान गरि जनताको विचमा ल्याउन अनुरोध समेत गरे ।
छलफलकै क्रममा पत्रकार रंजन भण्डारीले भाद्र २३ र २५ को घटना पश्चात कर्फयुका क्रममा रिपोर्टिङ्ग गर्दा आफूहरु प्रहरीबाट नै असुरक्षित मसहुस गर्ने गरेको र प्रहरीले समेत आफुहरुलाई विभिन्न वाहानामा टारगेटमै राखेको बताए ।
यता पत्रकारहरुको प्रश्नको जवाफमा टोलीले आफुहरुले सरकार र आन्दोलनकारी विच आन्दोलनको माध्यमबाट नभई वार्ताको माध्यमबाट समाधान खोज्न पहल गर्दै गरेको र मानव अधिकार उल्लंघनको जुनसुकै घटना पनि असहय रहेको भन्दै चाडै दोषीहरु कार्यवाहीमा पर्ने बताए ।
आफुहरु कुनै एकपक्षको नभई मानव अधिकार उल्लंघन गर्ने जोसुकै पनि अपराधी रहेको जिकिर गरे । टोलीमा आयोगले केन्द्रवाट खटाएका मन्जु खतिवडा, लेखनाथ वास्तोला र सुर्यनारायण देउजा रहेका थिए भने छलफल कार्यक्रम आरसिडिएससीका सुदिप झाको सहयोगमा आयोजना गरिएको थियो ।



