
हुलाकी न्यूज, जनकपुरधाम ८ माघ । संयुक्त युवा संघर्ष समितिले अव मधेशी मोर्चाकै प्रतिकार गर्ने बताएका छन् । मधेशी मोर्चा भाषण मै सिमिति भएको र मधेशी जनतालाई बेवकुफ बनाइरहेको समितिको आरोप रहेको छ ।
शुक्रबार हुलाकी न्यूजसँग कुराकानी गर्दै समितिका अध्यक्ष धर्मेन्द्र साहले मधेशी मोर्चा चिया विस्कुट खान काठमाडौंमा वार्ताको नाटक मञ्चन गर्ने र मधेशमा मधेशी जनतालाई हत्या गराउने गरेको आरोप लगाए ।
साहले भने,‘मधेशी मोर्चा असफल भइसकेको छ । मोर्चाको मागहरु मध्ये कुनै माग पुरा भएको छैन । तर पनि सरकारी दलहरुसँग मोर्चा टाँसिदै आएको छ । मोर्चाका नेताहरुमा अहिले पनि सत्ताको लोभ रहेको छ । अव मोर्चाले विशुद्ध आन्दोलन गर्नु पर्छ । दुई धारे काम गर्नु हुँदैन । होइन भने हामी मधेशी मोर्चाका विरुद्ध संघर्ष गर्ने छौं ।’
साहले भने,‘मोर्चाले भन्यो माग सम्बोधन नभएसम्म वार्तामा बस्दैनौं तर पुनः वार्तामा बस्न गयो । मोर्चाले भन्यो, काठमाडौंमा वार्ता हुँदैन तर पनि काठमाडौं मै वार्ता गर्दै आएको छ । मधेशी मोर्चा एमाले जस्तै ढुलमुले प्रबृतिको भइसक्यो । यस्तै अवस्था रहे मोर्चाका विरुद्ध हामी सबैले संघर्ष गर्नेछौं ।’



