
हुलाकी न्यूज, बीरगञ्ज ८ माघ । मोरङ्गको रंगेलीमा प्रहरीद्वारा तीन जना मधेशी मारिएपछि बाराको सदरमुकाम कलैया र पर्साको सदरमुकाम बीरगञ्ज शुक्रबार विहानैदेखि उग्र बनेको छ ।
शुकबार विहानदेखि वीरगन्जको घण्टाघरमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरु वीरगंजको बिभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गर्दै सरकार र प्रमुख दल बिरुद्ध चर्को नाराबाजी गर्दैछन् ।
‘एक जना महिलासमेत तीन जनाको हत्या भएको छ, पहिलेदेखि तय रहेको मोर्चाको कार्यक्रम बिथोल्ने उदेश्यले र टकरावको स्थिति पैदा गर्न प्रधानमन्त्री केपी ओलीको पार्टीले सोही ठाउँ र समयमा कार्यक्रम राखेर देशमा अराजकता पैदा गर्ने मनसाय प्रष्टिएको छ,’ प्रदर्शनका क्रममा मधेशी जनाधिकार फोरम नेपालका पर्सा अधयक्ष तथा मोर्चाको जनपरिचालन समितिका संयोजक प्रदीप यादवले बताए ।
यता कलैयामा समेत प्रदर्शनकारीहरुले प्रदर्शनलाई तीब्रता दिएको छ । विहानैदेखि चौक चौकमा टायर बाली प्रदर्शन गर्दैछन् । केही सवारी साधनमा पनि आगजनी भएको छ ।



