हुलाकी न्यूज, काठमाडौ ६ माघ । नेपाल सरकारले मधेशका जिल्लाहरुलाई छोडेर पहाडका जिल्लाहरुलाई समेटी बौद्ध सर्किट बनाउने भएको छ । सरकारले पोखरा, नमोबुद्ध र दमकलाई लुम्बिनीसँग जोडेर बौद्ध सर्किट निर्माण गर्न लागेको छ ।
जसको लागि सरकारले दुई अर्बको टेण्डर समेत गरिसकेको पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोख्रेलले बताएका छन् ।
मन्त्री पोख्रेलले आगामी जेठ ८ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्ध जयन्ती मनाउने, लुम्बिनी, पोखरा, नमोबुद्ध र दमकलाई जोडेर नेपालभित्रै बौद्ध सर्किट निर्माणको योजनाको खुलासा गरे ।
उनले भने,‘नेपालमा पोलिटिक, एडभेन्चर र एनजीओ पर्यटन कायम छ । धार्मिक र साँस्कृतिक पर्यटन आफै चलिरहेको छ । अब हिन्दु र बुद्धिष्ट कल्चरको प्रर्वद्ध गरेर पर्यटन क्षेत्रको विकास गर्नु पर्छ । त्यसको लागि पुर्ननिर्माण गर्न दुई अर्बको टेण्डर लगाईसकेका छौ । बुद्ध र बुद्धिज्म नेपालमै जन्मिएको भन्ने सन्देश दिने योजनामा छु ।’
काठमाडौंमा बुधबार रिपोटर्स क्लबले आयोजना गरेको कार्यक्रममा मन्त्री पोख्रेलले ७५ वटै जिल्लामा विमानस्थल निर्माण गर्ने गरी जग्गा प्राप्तीको योजना सुरु गर्न लागेको भन्दै विमानस्थल बन्न नसक्ने भए हेलिप्याड समेत बनाउने बताए ।