
रबिन्द्र प्रताप गुप्ता, भैरहवा ५ माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा रुपन्देहीले मधेश आन्दोलन २०७२ मा रुपन्देही जिल्लाबाट सहादत प्राप्त सहिद परिवारलाई मंगलबार एक कार्यक्रमका बीच भैरहवामा सम्मान गरेको छ । मधेश आन्दोलनको प्रथम सहिद रमेश महतोले माघ ५ गते सहादत प्राप्त गरेको दिनमा मोर्चाले सहिद परिवारलाई सम्मान गरेको हो ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा रुपन्देहीका संयोजक तथा संघीय समाजवादी फोरम नेपाल रुपन्देहीका अध्यक्ष महेन्द्र यादवको अध्यक्षता सम्पन्न कार्यक्रममा मधेशआन्दोलनमा रुपन्देहीबाट सहादत प्राप्त गरेका सहिदहरु सुनिल यादव, दुर्गेश यादव, रामेश्वर पासी, शैलेन्द्र श्रीवास्तव, चन्दन पटेल, राजकुमार बरई, रन्जना क्षेत्री, विन्दु लाकोल, नन्दनी पाण्डे र शोहवाती मुराउको परिवारलाई मोर्चाले सम्मान गरेको हो । साथै तराई–मधेश लोकतान्त्रिक पार्टी रुपन्देहीका उपाध्यक्ष अजय गुप्ताले रुपन्देही इट्टा उद्योग व्यवसायी संघ रुपन्देही मार्फत सहिद परिवारलाई आर्थिक रकम प्रदान गरेका थिए ।
कार्यक्रममा सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष तथा पुर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव गुल्जारीले मधेश आन्दोलनमा सहिदहरुले गरेको योगदानलाई सम्मान गर्ने र मधेसको माग पूरा नहुन्जेल सम्म लडिरहने प्रतिबद्धता व्यक्त गरे । उनले राज्यले वार्ताको नाममा केवल नाटक मात्र गरेको आरोप लगाए । रुपन्देहीमा प्रशासनले निशेधाज्ञा जारी गरि आन्दोलन माथी दमन गर्न खोजेको नेता यादवले बताए ।
तराई–मधेश लोकतान्त्रिक पार्टी रुपन्देहीका जिल्ला सचिव विजय चौधरीको सन्चालनमा सम्पन्न कार्यक्रममा सदभावना पार्टीका केन्द्रीय सदस्यद्वय मनमोहन चौधरी, राजेन्द्र गुप्ता,मधेसी मोर्चाका नेताहरू विद्या यादव, नवलकिशोर सिंह,आनन्द प्रसाद गुप्ता,सरोज पाण्डे,गणेश पाल,राम अवतार यादव,मधेसी पत्रकार समाज नेपाल रुपन्देहीका अध्यक्ष राम विकास चौधरी लगायतको उपस्थिति रहेको थियो ।



