
हुलाकी न्यूज, काठमाडौं ५ माघ । मधेश–थरुहटमा पाँच महिनादेखि जारी आन्दोलन अझै लम्बिने भएको छ । वार्तालाई निष्कर्षमा पु¥याउन तीन दलको प्रस्तावमा बनेको कार्यदलबाट मधेशी मोर्चा बाहिरिएको छ । उसले कार्यादलको औचित्य सकिएको जनाएको छ ।
मोर्चाका तर्फबाट कार्यदल सदस्यहरुले काँग्रेस–एमाले–एमाओवादीका सदस्यहरुले निकास दिन नचाहेको र आन्दोलनकारीलाई अल्मल्याउन मात्र खोजेको आरोप लगाएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मोर्चाका सदस्यहरुले कार्यदलको औचित्य समाप्त भएको घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा मधेशी मोर्चाका कार्यदल सदस्य हृदयेश त्रिपाठीले तीनबाट गठित कार्यदल स्वतन्त्रतापूर्वक कुनै निर्णय लिन नसक्ने भएकोले त्यो कार्यदलसँग वार्ताको कुनै औचित्य नरहेको बताउँदै अब वार्ता अध्यक्षस्तरीय गर्नुपर्ने बताए ।
त्रिपाठीले मधेशी मोर्चाको कार्यदल आफ्नो एजेन्डाप्रति स्पष्ट रहेकोले त्यसमा कुनै किसिमको सम्झौता नगर्ने बताउँदै मधेश आन्दोलन कमजोर नभएको र तीन दलका कारण जनतामा झन् आक्रोश बढेको जिकिर गरेका छन् । आन्दोलनका कार्यक्रम यथावतै रहने मोर्चाले जनाएको छ ।



