
रंजन भण्डारी, जलेश्वर ४ माघ । महोत्तरीमा पुनः अर्को बच्चाको हत्या भएको छ । यससँगै पछिल्लो दुई सातामा दुई जना बच्चाको अपहरण पछि हत्या भएको हो ।
गत बिहीबार साँझबाट हराएका जलेश्वर १२ मलिवाराका नविन पाण्डेयका ११ वर्षिय छोरा निश्चल पाण्डेयको हत्या भएको छ । पाण्डेको शव गाडिएको अवस्थामा जलेश्वर १३ धवौली नजिकै रातो खोलाको किनारमा आइतबार राती फेला परेको हो ।
निश्चल जलेश्वरस्थित अल्हेव्स स्कुलको कक्षा ४ मा अध्ययनरत थिए । अपहरण गरेको आशंकाको आधारमा १ मोटरसाईकल र ४ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेको हो ।
अनुसन्धानको क्रममा आइतबार थप एकजना प्रहरीको घेरामा परेपछि आफुले नै अपहरण गरि हत्या गरेको स्वीकार गरेपछि लास फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीका प्रहरी उपरीक्षक जनक भट्टराईले अभियुक्त र घटनाको विस्तृत विवरण साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने हुलाकी न्यूजलाई बताए ।

हत्याको खबर पछि आमा अचेत
यता निश्चलको घरमा छोराको हत्या बारे खवर पाएपछि आमा अचेत अवस्थामा छिन् । विगत केहि दिनमा महोत्तरीका वालवालिका अपहरण र हत्या हुने क्रम वढेकोले समाजमा डर–सन्त्रास फैलिएको छ ।



