
मनोज कर्ण (जनकपुरधाम)
मधेशमा आन्दोलन सुरु हुँदा विमलेन्द्र निधि मन्त्री पदमा विराजमान थिए । आन्दोलन सुरु भएपछि निधि हालसम्म मधेश झरेका छैनन् ।
संविधान सभामा नयाँ संविधानमा हस्ताक्षर गरेका निधिले आजभोलि संविधान संशोधन हुनु पर्ने कुरा गरेपछि हामी मधेशीहरुलाई हाँसो उठ्ने गरेको छ । निधिले संविधान संशोधन गराउन चाहन्थे भने त्यसबेला विरोध किन गरेनन् । झन् बहालबाला मन्त्री बनेर झण्डा हल्लाउँदै संविधानको पक्षमा वकालत गर्दै हिड्थे उनी ।
रामचन्द्र पौडेलले टिभीमा ‘नेपालको नयाँ संविधान विश्वकै सर्वोत्कृष्ट संविधान हो’ भने पछि निधिले पनि होमा हो मिलाउँदै थिए ।
मधेशमा जारी आन्दोलनमा एक दिन पनि सहभागी नभएका र मधेशीसँग डराएर काठमाडौंमा लुकेर बसेका निधि आज काँग्रेसमा पद पाउन पुनः मधेशीहरुकै साहारा लिदैछन् ।
मधेशीलाई रिझाउन उनी अहिले संविधान संशोधनको कुरा गर्दैछन् भने आन्दोलन व्यवस्थाप गर्नु पर्ने तर्क गर्दैछन् । एमालेको विरुद्धमा बोलेर आफु मधेशी रहेको प्रमाणित गर्न खोज्दैछन् निधि ।
शनिबार उनले नेपाली काँग्रेसको आगामी महाधिवेशनमा महामन्त्री पदको उम्मेदबारी दिने कुरा सार्वजनिक गरे ।
निधि जित्नका लागि ‘मधेश कार्ड’ प्रयोग गर्दैछन् ।
उनले मधेशी–काँग्रेसीको मन जित्न मधेशीसँग राज्यले विभेद गरेको र त्यसको अन्त्यका लागि काँग्रेसमा उम्मेदबारी दिएको दाबी गर्दैछन् र गर्ने पनि छन् ।
निधिले पार्टी भित्र दबाबका लागि आफु मधेशी भएको र मधेशमा झर्दै गएको काँग्रेसको साख जोगाउन आफु जित्नु पर्ने तर्क दिदैछन् । अर्थात मधेश आन्दोलनबाट काँग्रेसले मधेशमा गुमाएको साख फिर्ता गर्न निधिले आफू तयार रहेको प्रमाणहरु दिदैछन् ।
आफु महामन्त्री पदमा विजयी भए भोली मधेशीहरुलाई पुनः काँग्रेसमै फर्काउन सकिने र मधेशमा काँग्रेसको पकड कायमै राख्न सकिने तर्क प्रस्तुत गर्दैछन् ।
त्यसैले अव काँग्रेसको महाधिवेशन ताका निधि घोर मधेशी हुनेछन् । र, पार्टीबाट पनि आफू मधेशी भएको फाईदा उठाउने छन् भने मधेशीलाई पनि आफु महामन्त्री भए मधेशको समस्या समाधान गर्ने ढारस दिनेछन् ।
हुनत उनी यसअघि पनि महामन्त्री भईसकेका हुन् । तर त्यसबेला पनि मधेशीलाई ठेंगा देखाएका हुन् ।
तर मधेशी जनताले निधिका बारे भुल्ने छैनन् कि उनले,‘आफू मन्त्री भएर संविधान बनाउने, मधेशीले विरोध गर्दै गर्दा त्यसमा हस्ताक्षर गर्ने अनी मधेशी आन्दोलनकारीबाट लुकेर काठमाडौंमा बस्ने । अन्त्यमा आन्दोलनको रापताप देखाएर पार्टीमा महामन्त्री पडकाउने ।’



