
रंजन भण्डारी, जलेश्वर ३ माघ । एक साता नवित्दै महोत्तरीबाट अर्को बच्चा हराएको छ । साता अघि हराएको एक बच्चाको अपहरण पश्चात हत्या गरिएको थियो ।
विहीबार साँझ करिव ६ वजेदेखि जलेश्वर १२ मलिबारास्थित वस स्टेण्ड नजिकबाट एक बच्चा हराएको छ । सोही ठाउँ निवासी नविन पाण्डेयका ११ वर्षिय छोरा निश्चल पाण्डेय अझै सम्पर्कमा आउन सकेका छैन ।
अपहरण गरेको आशंकाको आधारमा १ मोटरसाईकल र ४ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानजारी राखेपनि आईतबार विहानसम्म बच्चा बारे कुनै जानकारी प्राप्त हुन नसकेको परिवारजनले जनाएको छ ।
हुलाकी न्यूजसँग कुराकानी गर्दै जिल्ला प्रहरीका प्रहरी उपरीक्षक जनक भट्टराईले खबर पाउनासाथ सर्च अपरेशन सुरु भएको र शंकाको आधारमा केहि व्यक्तिलाई सोधपुछको लागि नियन्त्रणमा राखिएके जनाउँदै चाडै बच्चा सम्पर्कमा आउने आशा व्यक्त गरेका छन् ।
यता निश्चलको घरमा छोरा बेपत्ता भएदेखि नै रुवावासी चलेको छ । निश्चलकी आमाको छोराको वियोगमा आशु थामिएको छैन ।
विगत केहि दिनमा महोत्तरीका वालवालिका अपहरण र हत्या हुने क्रम बढेकोले समाजमा डर र सन्त्रासको अवस्था छ । सिमामा तस्करी फस्टाएको र आपराधिक कृयाकलाप गर्नेहरुमा प्रहरीको डर कम हुदै गएकोले यस्ता घटना घटने गरेको वुद्धिजिवीहरु वताउँछन् ।



