Tharu-village-

हुलाकी न्यूज, टिकापुर २ माघ । टिकापुर घटना पछि कैलालीमा प्रहरीको डर थारुहरुमा व्याप्त छ । अहिले पनि दर्जनौं थारु परिवार भारतमा लुकेर बसेका छन् ।

टिकापुरका थारु आन्दोलनका अगुवा एवं सद्भावना पार्टीका केन्द्रीय सदस्य रेश्म चौधरीलगायतका नेताहरु भारतमा लुकेका छन् । यता उनीहरुको घरमा दिनहुँ प्रहरीले खोजतलास गर्दै आएको छ ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै रेश्म चौधरीले भने,‘हामीले यस वर्ष माघी मनाउन पाएनौं । राज्य आतंकका कारण भूमिगत शैलीमा बस्नु परेको छ । टिकापुरमा पनि परिवारका सदस्यहरुले मनाउन पाएनन् । हाम्रो महत्वपूर्ण पर्वमा थारुहरुको यस्तो हाल छ ।’

यता टिकापुर आसपासका गाउँहरु मुनुवा, थापापुर र जोशीपुरका थारुहरुले पनि माघी मनाउन पाएका छैनन् । अधिकांश परिवारको पुरुष पक्राउ परेका छन् भने केही प्रहरीबाट जोगिन लुकेर बसेका छन् ।

मुनुवा १ का राजकुमार कठरीयाका परिवारलगायत दर्जनौं परिवारले माघी मनाउन पाएनन् । कारण हो राजकुमारलाई प्रहरीले हिरासतमा राखेको छ । राजकुमारलाई यातना दिएको कुरा दिनहुँ उनका परिवारसम्म प्रहरी संयन्त्रले नै पु¥याउने गरेको छ ।

त्यस्तै थापापुर १ का राजेश चौधरीका परिवारले पनि माघी मनाउन पाएनन् । उनकी श्रीमति भन्छन्,‘मेरो थरुवालाई प्रहरीले लगेको छ । घरमा कमाउने एक्लै उही थियो । उही जेलमा भएपछि माघी कसरी मनाउनु ?’

कैलाली र भारतमा रहेका शरणार्थी थारुसँग भेटेका हुलाकी न्यूजका सम्पादक बीपी साह भन्छन्,‘कैलाली आसपासका थारु बस्तीहरुको अवस्था अहिले पनि त्रासपूर्ण छ । झन् भारतको उत्तर प्रदेशमा रहेको थारुहरुको शरणार्थी शिविरको अवस्था पनि दयनिय छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.