
सीके लाल, विश्लेषक
० जारी आन्दोलनमा सुरक्षाकर्मी र आन्दोलनकारीको भूमिकालाई कसरी लिनु हुन्छ ?
—यसलाई तीन किसिमबाट हेर्नुपर्ने हुन्छ । एउटा कुरा, मधेशमा जुन सुरक्षाकर्मी छन्, तिनका व्यवहार आफ्नै देशका जनताप्रतिभन्दा पनि कुनै नियन्त्रित क्षेत्रमा कानुन व्यवस्था कायम गर्ने आन्तरिक उपनिवेशवादी सत्ताको जस्तो छ ।
दोश्रो कुरा, नेपालको सुरक्षा निकायको संरचना साम्प्रादायिक चरित्रको छ । केही मधेशीहरू त्यसमा भए पनि बहुसंख्यक पहाडी समुदायका व्यक्तिहरू छन् । यसमा पनि गोर्खाली मूल्य र मान्यता कायम रहेको हुनाले मधेशीप्रति समभावको अभाव छ । त्यसैले ती क्रुरतापूर्वक प्रस्तुत हुन्छन् ।
तेश्रो कुरा, मधेशी आन्दोलनकारीहरूमा पनि सुरक्षाकर्मी भनेको हाम्रै दाजुभाइ हुन्, यी हामीलाई पनि काम लाग्छन्, यहीको कानुन व्यवस्था राख्ने हुन्, भन्ने भाव छैन । त्यसैले तीनवटै कारणले गर्दा सामान्य अवस्थामा बढी बल प्रयोग भएको देखिन्छ । सुरक्षा निकायले पनि क्रुरता प्रदर्शन गर्छ । त्यसैले शहादत पाउने र घाइतेको संख्या धेरै छ ।
० तपाईं मधेश भ्रमणका क्रममा बल प्रयोग बारे के कस्ता कुरा पाउनु भयो ?
— कति कुरा यति स्पष्ट हुन्छन् कि व्याख्या नै गर्नु पर्दैन । सुरक्षाकर्मीमा मधेशी भनेका पनि हाम्रै दाजुभाइ हुन् । यो देशभित्रकै समस्या हो । राजनीतिक मागका लागि आन्दोलन भइरहेको छ, भन्ने थाहा नभएको हुनाले दमनमा उत्रिदा तिनीहरू साह्रै क्रुर हुन्छन् ।
अर्कोतिर आन्दोलनकारीमा पनि के छ भने सुरक्षाकर्मी हाम्रै देशका हुन् हाम्रै दाजुभाइ हुन् भन्ने भावना छैन । जब भावना टुट्छ, तब दमन क्रुर हुन्छ । यो अत्यन्तै स्भाविक हो । त्यही कुरा ठाउँ–ठाउँमा देखिए । नभए त आन्दोलनकारीले पनि सुरक्षाकर्मीमाथि त्यस्तो हमला गर्नुपर्ने अवस्था आउने थिएन । जस्तो महोत्तरीमा एउटा दुर्घटना भयो, अथवा टीकापुरमा भयो ।
यी घटना हुने थिएनन् नि त । सुरक्षाकर्मीले पनि निहत्था र निर्दोष जनतामाथि चाहीं ताकीताकी टाउकोमा गोली हान्ने काम गर्नुहुँदैन थियो । भावनात्मक तार चुँडिएको अवस्था छ । त्यो बडा खतरनाक अवस्था हो ।
० भनेपछि भावनात्मक तार जोड्ने प्रयास भएको छ ?
— अहिलेसम्म कसैले कोशिस गरेको देखिएको छैन । किन भने राज्यसत्ता नै साम्प्रादायिक छ । प्रधानमन्त्री स्वयं साम्प्रादायिक कुरा गर्छन् । केहीको कामै चौबिसै घण्टा मधेशीहरूलाई गाली गर्नुमा सीमित हुन्छ । सुरक्षा संयन्त्रले आफ्नो निर्देशन र उत्प्रेरणा पाउने निकाय नै साम्प्रादायिक भएपछि त त्यसले संयम अपनाउनुपर्ने अवस्था नै रहँदैन ।
त्यसैले अहिलेसम्म भावनात्मक रूपले जोड्ने प्रयास मधेशमा चाहीं भइरहेको छ । सुरक्षाकर्मीभन्दा आन्दोलनकारीलाई अलि बढी जिम्मेवारी बोध भएको छ ।
० भनेपछि सुरक्षा निकायलाई किन जिम्मेवार बनाउन नसकिएको होला ?
— हाम्रो राज्यको संरचना नै साम्प्रादायिक चरित्रको छ । अहिले नेतृत्वमा माले, मण्डले, मसालेहरू छन् । यो मधेश विरोधी सरकार हो । मधेश विरोधी सरकारले मधेशको हित हुने कुरा त गर्दैन नि । साम्प्रायिक सरकारले त जुनसुकै शर्तमा आफू सत्तामा बसिरहन चाहन्छ । सत्ता टिकाउनका लागि दमनलाई एउटा तरिकाको रूपमा अख्तियार गरेको हुन्छ । यो व्यवस्था र अवस्था नफेरिएसम्म यस्तै हुन्छ ।
० सरकारले आफ्नो निर्देशन कार्यान्वयन गराउने क्रममा सुरक्षा निकायसँग सम्वन्यकारी भूमिका कस्तो पाउनु भएको छ । सरकारले दिएको निर्देशन सुरक्षाकर्मीले पालना गर्छन् कि सुरक्षाकर्मी आफ्नै हिसाबले हिंडेको पनि अवस्था छ ?
— हाम्रो सुरक्षाकर्मीको यो नै मुख्य समस्या हो । सुरक्षा दिनु सेवा र पेशा हो । सत्ताधारीको अनौतिक निर्देशन मान्न सुरक्षाकर्मी बाध्य हुँदैनन् । जसरी सामान्य निहत्था जनतामाथि गोली चलाउनु हुँदैन भन्ने एउटा नैतिक मान्यता हो । जुन नैतिक मान्यताका आधारमा तत्कालीन ज्ञानेन्द्र शाहको पालामा अथवा वीरेन्द्र शाहको पालामा सुरक्षाकर्मीले ठाउँ–ठाउँमा गोली चलाउन इन्कार गरेको कुराहरू बाहिर आएका थिए । अहिले सुरक्षा निकायमा धेरै राजनीतिकरण भयो ।
यति धेरै दलीय प्रतिबद्धता पनि बढे, यति धेरै साम्प्रादायिकता भयो कि त्यो नैतिक बल सुरक्षा निकायमा बाँकी रहेन र अनैतिक आदेशहरूको पालना गरेको देखियो । जुन डर लाग्दो हो । यसमा सुधार कसरी हुने हो, यो कुरा मलाई पनि थाहा छैन ।
० सुरक्षाकर्मीले बिना निर्देशन पनि काम परेको पाइयो कि ?
— सुरक्षाकर्मी भनेको मेसिन अथवा रोबोट त होइन नि । एउटा प्रोग्रामिङ गरिदिएपछि भटाभट गोली हान्ने जस्तो रोबोट त होइन नि । सुरक्षाकर्मी भनेको मानव हो । एउटा मानवले अर्को मानवलाई गोली नै हान्नुपर्ने अवस्था कस्तो हुन्छ भन्ने नियम, कानुन र नैतिकता छ नि ।
यी कुराहरूको विचार गर्नुपर्ने हुन्छ । हो, आक्रमण भएका बेला वेद पढेर त कोही बस्दैनन् । तर, निहत्थामाथि गोली चलाउने भनेको त अमानवीय कार्य हो । यस विषयमा विचार गर्नुपर्ने हो । रोबोटभन्दा गएगुज्रिएको देखियो । रोबोट पनि एउटा परिस्थितिको हिसाबले काम गर्छ । तर, सुरक्षाकर्मी दलीय प्रतिबद्धता र साम्प्रादायिक रूपले काम गरेको देखियो । त्यो भनेको डर लाग्दो अवस्था हो ।
० मधेशी मोर्चा र सुरक्षाकर्मीबीचको समन्वय कस्तो पाउनु भयो ?
— मेरो विचारमा त्यसमा पनि कमि छ । किन भने यो कुनै राजनीतिक समूहले गरेको आन्दोलन होइन । यसलाई मधेशी मोर्चाको आन्दोलन भनिए पनि स्वतस्फूर्त नै देखिएको छ । स्वतस्फूर्त भएका बेलामा समन्वय सम्भव हुँदैन । त्यसैले सुरक्षाकर्मी झन् धेरै सावधान हुनुपर्छ । जुन सावधानी अपनाइएको देखिएन । योजनाबद्ध रूपमा आन्दोलन गरिरहेको मधेशी मोर्चाबाट समन्वयको प्रयास भएको हाम्रो जानकारीमा छ ।
स्वतस्फूर्त रूपमा भएको आन्दोलनमा कतिपय ठाउँमा आक्रोश पोखिएको छ । तर, आक्रोशका बेला कसरी संयमतामा अपनाउनुपर्ने त्यसमा विचार गरिएन । विचार नपु¥याएर कहिलेकाहीं निर्देशनविपरीत दमन भएको देखिन्छ । तर, यस्ता कुराहरूलाई सकभर नियन्त्रण गर्दै लैजानुपर्छ ।
० सरकार, सुरक्षाकर्मी र आन्दोलनकारीलाई के सल्लाह दिनुहुन्छ ?
— सल्लाह दिने यसमा केही कुरा छैन । आन्दोलनमा लागेका मान्छेले पनि सल्लाह सुन्दैनन्, हातमा बन्दुक भएकाले पनि सल्लाह सुन्दैनन् । संयम राख्नुपर्छ भनेर कसैले सिकाइरहनुपर्दैन । यो कुरा त सबैलाई थाहा भएको कुरा हो नि । नियम कानुनको पालना गर्नुपर्छ, घुँडाभन्दा माथि गोली हान्नु हुँदैन भन्ने कुराको सल्लाह दिनु पर्छ र । तिनीहरूलाई त यी कुराहरू तालिममै सिकाइन्छ नि ।
आन्दोलनकारीले आफ्नै देशमा आन्दोलन गरेको हो । युद्ध गरेको होइन । त्यसैले सकभर समन्वय गर्नुपर्छ भन्ने कुरा कसैले सिकाउनु पर्दैन । यता, पटक–पटक मन्त्री भइसकेका आन्दोलनका नेतृत्वकर्तालाई पनि यी कुराहरू भनिराख्नुपर्दैन नि । यो अन्तरवार्ता शुक्रबारको मधेशवाणीमा प्रकाशित छ । कभर फोटो रेकर्ड नेपाल



