
हुलाकी न्यूज, बीरगञ्ज १ माघ । मधेश आन्दोलनको क्रममा गोली लागि घाइते भएकाहरु माँगेर खान बाध्य छन् ।
बीरगञ्ज इनरुवाका सन्त लाल यादवको एउटा खुट्टा छैन । केही वर्ष अघि सुख्खा बन्दरगाहामा काम गर्दा उनको खुट्टा काट्नु परेको थियो ।
करिब ४ महिना पहिले बीरगञ्जमा आन्दोलन चर्किदा उनी सडक छेउ हुँदै घर जाँदै थिए । सोही क्रममा प्रहरीले ताकेर उनलाई गोली हानेको यादव बताउँछन् ।
हुलाकी न्यूजकर्मीसँग यादवले भने,‘अगाडि तिर हेरेको भए मेरा छातीमा गोली लाग्ने थियो र म मारिने थिए । तर म पछाडि फर्के त्यही भएर मेरा पछाडि पट्टीको ढाँडमा गोली लाग्यो ।’
उनको आर्थिक अवस्था दयनिय छ । उनी घाइते भएपछि श्रीमतिले छोराछोरीलाई लिएर माइत गएकी छिन् । अहिले सन्तलाल एक्लै टुटेको घरमा बस्छन् । र, छिमेकीहरुले पालै पालो खुवाउने गरेका छन् ।
हुलाकी न्यूजको पहलमा सहयोग
हुलाकी न्यूजका सम्पादक बीपी साहले मधेश आन्दोलनका सहिद परिवार तथा घाइते परिवारलाई भेट्न जाँदा यादवको अवस्था निकै दयनिय थियो । सोही क्रममा तत्काल केही सहयोगीहरु द्वारा सहयोग भएको थियो ।
हाल मधेश रिलिफ फण्डलाई उक्त विषयमा जानकारी गराएपछि जयमोद ठाकुर र प्रकाश चौधरी यादवको अवस्था बुझ्न गएका थिए ।
अवस्था बुझ्दा अझै पनि दयनिय रहेको जानकारी पाएपछि विहीबार तत्कालै ४२८८ रुपैयाँ संकलन गरी सहयोग गरेका थिए । त्यस्तै यादवको जीवन यापनका लागि मधेश रिलिफ फण्डबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त भएको छ ।




