हुलाकी न्यूज, जनकपुरधाम, २३ भदौ । धनुषाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको चेतावनीलाई बेवास्ता गर्दै धनुषाका सरकारी कर्मचारीहरुले मधेशमा जारी आन्दोलनमा समर्थन जनाएका छन् ।
बुधबार सयौंको संख्यामा सरकारी कर्मचारीहरुले आन्दोलनमा समर्थन जनाउँदै र्याली निकालेका छन् ।
मंगलबार मात्र धनुषाका प्रमुख जिल्ला अधिकारी पराजुलीले मधेशी मोर्चाको कार्यक्रममा सरकारी कर्मचारीको उपस्थिति रहने गरेकोप्रति आपत्ति जनाउँदै सरकारी कर्मचारीलाई राजनीतिक ब्यानरमा हुने कार्यक्रममा सहभागी नहुन चेतावनी दिएका थिए ।
प्रजिअ पराजुलीको चेतावनीलाई चुनौती दिँदै बुधबार बिहान धनुषाका सरकारी कर्मचारीहरुले र्याली निकालेका हुन् । यसअघि धनुषाका प्रजिअले विरोध कार्यक्रममा सहभागी नहुन निर्देशन दिएकै दिन मंगलबार उनीहरुले प्रजिअलाई आफूहरु आन्दोलनमा सहभागी हुने र समर्थनमा प्रदर्शन समेत गर्ने बताएका थिए ।
तस्विर : घनश्याम मिश्र





