
हुलाकी न्यूज, काठमाडौं २९ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका तर्फबाट वार्ता टोली सदस्य रामनरेश रायले वार्ता असफल हुनुको कारणहरु बारे भण्डाफोर गर्ने चेतावनी दिएका छन् ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता रायले अहिलेसम्म कार्यदलको बैठकमा कुनै पनि विषयमा सहमति जुट नसक्नु र हुन नदिनुका कारणहरु सार्वजनिक गर्ने बताए ।
रायले सरकारी पक्षले विहीबारको बैठकमा पनि ठोस धारणा नल्याए त्यसपछि कस्को कारण सहमति जुटन सकेन भन्ने कुरा सार्वजनिक गर्ने चेतावनी दिए ।
उनले भने,‘हामी तीन दलको बार्ता टोलीको फोन कतिबेला आउँछ र सिंहदरबार जाऔ भनेर पर्खिएर बस्छौ । अहिलेसम्म छलफल त भयो तर हाम्रो एघार बुँदेमा उहाँहरुले ठोस धारणा ल्याउनु भएको छैन । विहीबारको बैठकमा ल्याउछु भन्नु भएको छ । त्यसमा पनि ल्याउनु भएन भने हामी कस्को कारण बार्तामा सहमति हुन सकेन भन्ने कुरा सार्वजनिक गर्छौ ।’
मोर्चाको माग अनुसार संविधान संसोधन नभएसम्म आन्दोलनको कार्यक्रम जारी रहने भन्दै अहिलेसम्म सीमांकनमा बढी कुरा भए पनि कुनै प्रगति नभएको बताए ।
उनले भने,‘कति दिन भरोसामा बस्ने, कति दिन ब्यर्थमा बस्ने । अब धेरै सहन सकिदैन । सरकार बार्ताप्रति जिम्मेबार छैन । समाधान गर्ने हो भने सबै कुरा छाडेर निरन्तर बार्तामा आउनु पर्यो ।’



