हुलाकी न्यूज, काठमाडौं २८ पुस । थारुहरुको बृहत प्रशिक्षण हुने भएको छ । जसमा भारतमा रहेका थारुहरु पनि सहभागी हुने जनाइएको । थारुहरुलाई मधेशी तथा आदिजासी बुद्धिजिविहरुले प्रशिक्षण दिनेछ ।
उक्त प्रशिक्षण आन्दोलनलाई प्रभावकारी बनाउने उदेश्यले दिइन लागेको हो ।
काठमाडौंमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी थारु कल्याणकारिणी सभाले सिरहाको लहानमा माघ २३ गतेदेखि २५ गतेसम्म तीन दिने बृहत प्रशिक्षण आयोजना हुने जनाएको छ ।
थारु आन्दोलनलाई प्रभावकारी बनाउन भेला आयोजना गर्नुपरेको सभाका सचिवालय सदस्य राजकुमार लेखीले जनाउँदै भेलामा सभाका गाउँ, नगर र जिल्ला कमिटी, भातृ संगठनका पदाधिकारी, केन्द्रीय पदाधिकारीसहित एक हजार प्रतिनिधि सहभागीता रहने बताए । प्रशिक्षणमा संगठनका युवा, विद्यार्थीदेखि केन्द्रीय नेताहरुको पनि सहभागिता रहने जनाइएको छ ।
‘भारतको बिहार र उत्तर प्रदेशमा बसोबास गर्ने थारुहरुको साझा संगठन थारु कल्याण महासभाबाट पनि प्रतिनिधिहरुको सहभागिता रहनेछ,’ सभाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रशिक्षण भेलामा विभिन्न क्षेत्रका अधिकारकर्मीहरुबाट प्रशिक्षण तथा अन्तरक्रिया गराउने लेखीले बताए । उनका अनुसार अधिकारकर्मी कृष्ण भट्टचन, प्रध्यापक कृष्ण हाछ्यतु, विश्लेषक सीके लाल, अधिवक्ता शंकर लिम्बुले सभाका प्रतिनिधिहरुलाई प्रशिक्षण दिनेछन् ।




