हुलाकी न्यूज, जनकपुरधाम, २३ भदौ । जनकपुरमा मंगलबार भएको जुलुस र प्रदर्शनका क्रममा प्रहरीले गरेको दमनको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, धनुषा र नेकपा–माओवादी, धनुषाले विरोध गरेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाआबद्ध दलका धनुषा अध्यक्षहरु र नेकपा–माओवादीका जिल्ला सेक्रेटरीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रहरीको कदमको विरोध गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘भानुचौकमा भएको शान्तिपूर्ण प्रदर्शन तथा निषेधाज्ञा तोड्ने प्रयासको क्रममा प्रदर्शन गर्ने जनताको अधिकार भएकोले शान्तिपूर्ण जुलुसलाई अगाडि बढ्न दिन आग्रह गरिरहेको अवस्थामा एक्कासी प्रहरीले बर्बरतापूर्वक लाठी र अश्रु गैस प्रहार गरी सद्भावना पार्टीको के.स. लालकिशोर साह, संघिय समाजवादी पार्टीका के.स. अमरेश नारायण झा, संयुक्त लोकतान्त्रि मधेशी मोरचा धनुषाका संयोजक तथा तमलोपा धनुषाका अध्यक्ष परमेश्वर साह, सद्भावना पार्टी धनुषाका अध्यक्ष संजय सिंह, तमसपा धनुषाका अध्यक्ष रुपनारायण मण्डल, तमलोपाका रामबिनोद चौधरी, रेणू झा, ब्रजकिशोर सिंह, बिन्दु ठाकुर, धिरेन्द्र मिश्र, संघिय समाजवादी पार्टीका रामकुमार कापडी, अशोक यादव सद्भावना पार्टीका रामचन्द्र चौधरी, मनोहरकुमार मुखिया, रामबाबु साह, राष्ट्रीय मुस्लिम संघर्ष गठबन्धन, धनुषाकी शबनम खातुन लगायतका नेताहरू सहित ३७ जनालाई घाइते बनाइएको छ । यस अमानुषिक कार्यले यो सरकार र यिनका मतियारहरू मधेशीहरूको शान्तिपूर्ण भाषा बुझ्न असमर्थ रहेको र बल प्रयोगमाथि नै विश्वास गरेको स्पष्ट हुन्छ । हामी यसको घोर भर्त्सना गर्दै कडा प्रतिकारका निमित्त हामीलाई बाध्य पाडिंदै गएको स्पष्ट गर्न चाहन्छौं ।’
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, धनुषा र नेकपा–माओवादीले भाद्र २३ देखि २५ गते सम्मको आन्दोलनका कार्यक्रमहरु प्नि सार्वजनिक गरेको छ । आन्दोलनका कार्यक्रम अनुसार बुधबार ३ बजेदेखि ५ बजेसम्म सडक धर्ना, बिहिबार महिलाहरुको नेतृत्वमा झाडु जुलुस र भदौ २५ गते शुक्रबार प्रत्येक घरबाट कम्तिमा एकजना समावेश हुने गरी वृहत प्रदर्शन गरिने कार्यक्रम रहेको छ ।
मेर्चाले विरोध कार्यक्रममा सहभागी हुन सम्पूर्ण मधेशी समाज, राजनीतिक दल, संघसंस्था, वर्गीय संगठन, युवा र विद्यार्थी लगायत सबैसँग अपिल गरेको छ ।




page dhwrai man paryo