हुलाकी न्यूज, काठमाडौं २५ पुस । संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनका विशेष दूत जेफ्री फेल्टमन र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुबीच छलफल भएको छ ।
छलफलमा विशेष दुतले वार्ता प्रक्रियामा सहभागी भइराख्न मोर्चाका नेताहरुलाई आग्रह गरेको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले हुलाकी न्यूजलाई बताए ।
कर्णले हुलाकी न्यूजलाई भने, ‘महासचिवका विशेष दुत फेल्टमनले हामीसँग् करिब एक घण्टा छलफल गर्नु भयो । हामीले हाम्रो कुरा राख्यौं । उहाँले सबै कुरा सुन्न भयो । र वार्ता प्रक्रिया नछोड्न आग्रह गर्नु भयो ।’
कर्णका अनुसार मधेशमा भएको मानवीय क्षतिबारे पनि विशेष दुतले चिन्ता व्यक्त गरेका थिए ।
मोर्चाका नेताहरुले सरकारले गरेको दमनका बारे विस्तारमा सुनाएका थिए । संयुक्त राष्ट्रसंघका विशेष दुतले त्यसबारे पनि छलफल हुने जनाए ।
यता प्रधानमन्त्री केपी ओलीसँग पनि विशेष दुतले भेटेर मधेशीको माग वार्ता प्रक्रियाबाट शाीन्तपूर्ण ढंगले समाधान गर्न आग्रह गरेको बीबीसी नेपाली सेवाले जनाएको छ ।




