Dipendra Jha

दिपेन्द्र झा

नेपाल–भारत सम्बन्धमा विगतमा पनि उतार चढाव नआएको होइन, तर यतिखेर देखिएको उतार चढाव निकै गम्भीर छ । सन् १९९० पछिको कुरा गर्ने हो भने शायद पहिलोपटक नेपाल भारत सम्बन्धमा यो तहको तिक्तता देखिएको छ ।

मधेशी मोर्चाले गरेको सीमाको नाकाबन्दीलाई लिएर नेपालका मन्त्री तथा प्रधानमन्त्रीसमेतले भारतलाई खुलेर लान्छना लगाएका छन् । उता भारतले नाकाबन्दी नेपालको राजनीतिक दलहरुले गरेको र आन्तरिक समस्या समाधान हुने वितिकै समाधान हुनेछ भनेर शुरुदेखि लिएको अडानमा कायम रहेको छ ।

नेपाली सत्ताले भारतलाई गलगाउनका लागि नाकाबन्दीको अन्तर्राष्ट्रियकरणदेखि लिएर चिनीयाँ कार्डसमेत प्रयोग गरेको देखियो भने भारतले पनि त्यसको प्रतिरोध गर्दै अन्तर्राष्ट्रिय मञ्चमा माओवादी जनयुद्धको क्रममा भएको मानव अधिकार उल्लंघनका घटनामा सत्य तथ्यको उद्घाटन र न्यायको प्रत्याभूतिको विषयलाई जोडतोडका साथ उठायो । आखिर यी सब कुराहरु किन भए ?

सबैलाई जाहेर भएकै कुरा हो, यी सबै कुराहरुको जडमा नयाँ संविधानविरुद्ध आन्दोलिन मधेशी मोर्चाले सडक र सदनमा थालेको विगत चार महिनादेखिको आन्दोलन हो । जब मोर्चाले नाका केन्द्रित आन्दोलन ग¥यो, तब यहाँका मुख्य राजनीतिक दलहरु नेपाली कांग्रेस, एनेकपा माओवादी, नेकपा एमाले र सरकारले भारतको सहयोग छ भनेर आलोचना गरे ।

भारतले भन्दैआएको कुरा के हो भने यदि मधेस, जो भारतको सीमासंग जोडिएको छ, यदि त्यहाँ अशान्ति भयो, गडबडी भयो भने त्यसको स्पिलओभर इफेक्ट भारतमा पनि पर्छ र भारतको सुरक्षा व्यवस्थामा पनि खलल पर्छ । यो कुरा विल्कूलै जायज छ ।

भारतको लागि आजसम्मको सन्तोषको विषय के हो भने अन्य सीमा क्षेत्रभन्दा यो नेपाल भारतको सीमा उसको लागि कुनै ठूलो चिन्ताको विषय आजसम्म भएको छैन, यद्धपि भारत यो सीमा व्यवस्थाप्रति ढुक्क रहने अवस्था भने छैन । खुला सीमाका कारण यहाँबाट नक्कली भारतीय रुपियाँ र आतंकवादीहरुको घूसपैठ हुने खतराप्रति भारत सदैश चिन्तित रहेको छ । आखिर आइसी ८१४ पनि नेपालबाट अपहरण भएर अफगानिस्तान पु¥याइएको थियो ।

हुनत मधेशीहरुको आन्दोलनमा भारतले देखाएको अप्रत्यक्ष सहानुभूतिले यहाँको राज्यसत्तालाई चिढाएको छ, तर पनि भारतले त्यसलाई कायम राखेको छ । नेपालमा भारतले खेपेको आलोचनालाई भारतभित्र मोदी सरकारको नेवरहुड फस्र्टको नीति असफल भएको कुरा पनि भैरहेको छ ।

मोदी सरकारको आलोचकहरुले यतिसम्म भनेका छन् कि मोदी सरकारको गल्तीले नेपालमा चिनीया प्रभाव बढ्ने छ । यहाँनेर एउटा कुरा के बुझ्नुपर्दछ भने चीनको राजनीतिक, आर्थिक र सामरिक शक्ति जसरी विस्तार भैरहेको छ, उसले आफ्नो प्रभाव छिमेक र विश्वमा बढाउन खोज्ने नै छ, त्यही कारणले चीन आज नेपालमा मात्र होइन, दक्षिण एसियाका अन्य मुलुकहरु र टाढाका अफ्रिकी मुलुकहरुमा पनि आफ्नो प्रभाव विस्तारमा लागि रहेको छ ।

यो कुरा अन्तर्राष्ट्रिय राजनीतिमा भैरहने कुरा हो । हरेक मुलुकले आफ्नो प्रभाव विस्तारको लागि काम गरिरहेकै हुन्छ । नेपालमा भारत चीन र पश्चिमी मुलुक सबै आफ्नो प्रभाव विस्तारको लागि प्रयासरत छ, र यसमा कुनै अनौठौ कुरा छैन । जहाँसम्म भारतको सवाल छ, नेपाल र भारतबीच जुन तहमा सम्बन्धको विस्तार भएको छ त्यसलाई एक शब्दमा भन्दा रोटीबेटीको सम्बन्ध भनिन्छ ।

यो सम्बन्धलाई अहिलेको उतार चढावले विगार्नसक्ने जस्तो मलाई लाग्दैन । जसरी छिमेकीहरुबीच केही समय मनोमालिन्य हुन्छ, तर केही समयपछि सबै राम्रो भएर जान्छ, नेपाल र भारतबीचको सम्बन्धमा पनि त्यस्तै हुने छ । त्यसकारण अहिलेको तिक्तताले गर्दा सबै कुरा चौपट हुन लाग्यो भन्ने पनि हुँदैन ।

नेपालमा भारतले अहिले शान्ति, स्थिरता र समावेशीपनको लागि जुन नीति अवलम्बन गरेको छ, त्यसबाट मधेशीहरुलाई अहिले एउटा बलियो अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोग प्राप्त भएको छ । तर भारतको त्यो कदमले मधेश, जसले शदियौंदेखि ठगिएको र विभेद भएको महसुस गरेको छ, त्यो क्षेत्रलाई प्रजातान्त्रिक तरिकाबाट आफ्नो मागहरु पूरा गर्नका लागि प्रेरित गर्ने छ । त्यो कार्य त्यसकारण नेपालको हितमा छ ।

एकछिनका लागि यहाँको राज्यसत्ता वा ठूला दललाई लाग्ला, भारतले त मधेशीहरुलाई साथ दिएको छ, तर विस्तारै उनीहरुले पनि बुझ्नो छन् कि भारतको नीति वास्तविकतामा आधारित छ । यदि नेपालमा सुरक्षाको खतरा भयो भने त्यसबाट भारत अछुतो रहनसक्दैन । त्यतिमात्र होइन, नेपाल अस्थिर भयो, द्धन्द भइरह्यो भने त्यो भोलि उत्तरी छिमेकी चीनको लागि पनि राम्रो हुनसक्दैन । नेपाल अशान्त भयो भने यहाँ पनि फ्रि तिब्बतको नारा लाग्न सक्छ । मलाई लाग्छ, चीनले पनि यो कुरा बुझेको छ ।

भारतले अहिले नेपालमा लिएको नीतिको परिणामस्वरुप मधेशी ‘कज’लाई ठूलो फाइदा भएको छ । भारतका विद्धान एसडी मुनिले भारतले ६५ वर्षमा पहिलोपटक मधेशीको पक्षमा यति प्रखर समर्थन गरेको पनि भनेका छन्, तर मेरो बुझाइमा भारतले मधेसीहरुलाई त्यसरी समर्थन गर्नुका अन्य कुनै कारण नभएर त्यसो गर्नु नै नेपाल र भारत दुवै मुलुकका हितमा हुनेछ भन्ने सोचेर नै गरेको हो ।

विश्वको इतिहासले के देखाएको छ भने अधिकारको लागि आन्दोलन केही समयको लागि दबाउन सकिन्छ, तर जब सम्म भेदभाव रहन्छ, तबसम्म आन्दोलन भइरहन्छ । मधेसीहरुलाई अहिलेको संविधानले पूर्णतः न्याय गर्न सकेको छैन, उनीहरुलाई अन्तरिम संविधानले दिएको अधिकार पनि यो संविधानमा कटौती गरिएको छ । र संघीयताको सवालमा मधेशी पहिचानलाई खण्डित गर्ने प्रयास भएको छ । यसकारण मधेशीहरु अहिले आन्दोलित रहेका छन्, र यी यस्ता विषयहरु हुन, जुन कुराहरुमा न्याय प्राप्त नहुन्जेल संघर्ष समाप्त हुने अवस्था रहदैन ।

त्यसकारण भारतले अहिले लिएको नीतिबाट मधेश आन्दोलन हिंसात्मक हुनबाट र अधिकारका एजेण्डाहरु पृथकतावादी तत्वहरुको हातमा पुग्नबाट रोक्ने छ, र यो सबैको हितमा हुनेछ ।

त्यसकारण तत्कालका लागि यदि भारतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आलोचना सहेर भए पनि नेपालमा अख्तियार गरेको नीति कायम राख्नुपर्दछ ।

जहाँसम्म मधेशीहरुलाई हेर्ने दृष्टिकोणको कुरा छ, भारतले एउटा बुझ्नुपर्ने कुरा के छ भने मधेशी जनताहरु नेपाल र भारतको सम्बन्धलाई जति व्यवहारिकरुपमा बुझेका छन्, त्यति व्यवहारिकरुपमा शायदै पहाडी जनताले बुझेका छन् ।

नेपाल र भारतको सम्बन्धका बारेमा यही परिपक्व बुझाइका कारण भारतको अन्ध विरोधमा मधेशीहरुको रुचि हुँदैन । त्यसकारण मधेशीहरुलाई नेपालमा भारतका दलाल भन्ने गरिन्छ । भारतले मधेशीहरुलाई न बढी काखी च्याप्न जरुरी छ, नत यहाँका ठूला दलले दबाब दिदा मधेशी दलहरुलाई अनावश्यक दबब दिन जरुरी छ । यस्तो हुनसके आगामी दिनमा नेपालको राजनीति सही दिशामा जाने छ, र नेपाल र भारतको सम्बन्धमा झन् सकारात्मक प्रभाव पर्नेछ ।

लेखक झा मधेश मामिलाका जानकार हुनुका साथै अधिवक्ता हुन् ।

2 COMMENTS

  1. मधेश कि माँग जायज है और अन्तर्राष्ट्रीय जगत हमेशा सत्य के पक्ष मे होते हैं वकिल साहेव ।

  2. Every thing is well if ends well. India was also discriminating Madheshi. You can learn from the data where India supported only pahadi students under scholarship programmed. You can see how Indian officers behave inhuman with Madheshi at embassy premices in comparison to pahari people. But I thank Modi Jee , he realized the facts and trying to change policy unlike Congress govts in past. Thanks for every thing.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.