Rajendra-mahato-with-general-mehata

 

हुलाकी न्यूज, नयाँ दिल्ली २४ पुस । उपचारको क्रममा नयां दिल्लीमा रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भेट्न भारतका विभिन्न दलका नेता, सरकारी अधिकारीहरू, नेपाल मामिलाका विज्ञहरू आउने गरेको परिवारजनले जनाएको छ ।

प्रायः जसो भेंटमा सबैले महतोको शीघ्र स्वास्थ लाभको कामना गर्दै आराम गर्न सल्लाह सुझाव दिने गर्छन् । तर नेपाल मामिलामा निकै दिलचस्पी राख्ने भारतीय सेनाका पूर्व जेनरल अशोक मेहताको धारणा फरक थियो । नेपालबारे आफ्नो विवादित बयानले जहिले पनि नेपाली र भारतीय मिडियामा खबरमा बनि रहने अशोक मेहताले शीघ्र स्वास्थ लाभको कामना र आराम गर्ने सल्लाह दिएनन् ।

नयां दिल्लीको इण्डिया इण्टरनेशनल सेन्टरमा भएको भेंटमा पूर्व जेनरल मेहताले छिटोभन्दा छिटो मधेशमा गएर आन्दोलनको कमाण्ड संभाल्न दबाब दिएका थिए । महतोलाई भेट्न बित्तिकै जेनरल मेहताले सैनिक पारामा कुरा गर्दै महतोलाई भने “आप बिलकुल तन्दुरूस्त दिख रहे हो । अब जल्दी से मैदान–ए–जंग में जाकर आन्दोलन का कमाण्ड संभालिए ।’ (तपाईं स्वस्थ देखिनु भएको छ, अब चांडै गएर आन्दोलनको कमान संभाल्नुस) मेहतासंगको भेंटमा यस्तो कुरा सुन्न बित्तिकै राजेन्द्र महतो र उनी संगै बसेका दिल्लीका वरिष्ठ पत्रकार प्रशान्त झा, कान्तिपुरका दिल्ली सम्वाददाता देवेन्द्र भट्टराई र नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डे जिल्ल परेका थिए । उनी सबैको लागि यो आश्चर्यको कुरा थियो । एक छिन सबै गम्भीर भएका थिए ।

जेनरल मेहताले महतोलाई फेरि भने “तपाईं अहिले आन्दोलनमा हुनु हुन्छ । एक करोड मधेशी जनताको विश्वास र आशा तपाईंमाथि छ । तपाईं आराम गर्न तिर लाग्नु भयो भन्ने आन्दोलन शिथिल हुन्छ ।’

जवाफमा महतोले आफ्नो पार्टी र मोर्चाका अन्य साथीहरूले आन्दोलनलाई निरन्तरता दिई रहेको र चांडै आफू पनि मधेशमै गएर आन्दोलनमा सक्रिय हुने जानकारी गराएका थिए ।

अशोक मेहताले काठमाण्डौंमा भई रहेको निरन्तर वार्ता, कार्यदल गठन, संविधान संशोधन विधेयक र मोर्चाले लिन सक्ने अडानबारे जिज्ञासा राखेका थिए । जवाफमा महतोले वार्ताप्रति सरकार र तीन दल इमानदार नभएको, सहमति नगर्नकै लागि कार्यदल गठन गरिएको र यसले कुनै निकास नदिने बताएका थिए ।

महतोले तीन दलसँग यसपाली गलत समझौता नगरिने र यदि मोर्चाले कसैको दबाबमा आएर गलत समझौता गर्यो भने आफ्नो पार्टीलाई स्वीकार नहुने स्पष्ट पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.