हुलाकी न्यूज, वीरगंज, २३ पुष । जारी मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका बाराको प्रंसौनी निवासी दिनानाथ साह गोढका भर्खरै जन्मेका छोराको बिहिबार छठिहार सुसम्पन्न गरिएको छ । स्थानीयवासीहरुको सामूहिक सहयोगमा सहिद पुत्रको छठिहार मनाइएको हो ।
उक्त अवसरमा विभिन्न व्यक्तिले नवजात शिशुलाई नगद रु.८० हजार तथा लत्ता कपडा एवम् भाडाबर्तन उपहारस्वरुप दिएका छन् ।
मधेशी समाजद्वारा वीरगंजको माईस्थानमा आज सम्पन्न छठिहार कार्यक्रममा रेडियो तराई १०७ मेगाहर्जले रेडियो तथा स्रोता क्लबको प्रयासमा संकलित नगद रु.१० हजार २१ रुपैयाँ उपहार प्रदान गरेको छ । त्यस्तै वीरगंजका व्यापारी रविन्द्र सर्राफ तथा भुलन सर्राफले बच्चालाई नर्सरीदेखि उच्च शिक्षा सम्मको खर्च एकमुष्ट प्रदान गर्ने घोषणा गरेका छन् ।
बालकको छठिहारको अवसरमा अशिर्वाद दिनका लागि वीरगंज र आसपास क्षेत्रका बासिन्दाहरुका साथै पर्सा र बाराका स्थानीयको व्यापक सहभागिता थियो । स्थानीय जनसमुदाय, सर्वसाधारण, व्यापारी, विद्यार्थी, नगारिक समाजलगायत पेशागत संघसंगठनका व्यक्तिहरुको ठूलो सहभागिता रहेपनि राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति नगण्य रहेपछि सर्वसाधारण आक्रोसित देखिएका थिए ।



