हुलाकी न्यूज, काठमाडौं, २२ भदौ । मधेशी जनाधिकार फोरम लोकतान्त्रिक संविधानसभा प्रक्रियाबाट बाहिरिएको छ । फोरम लोकतान्त्रिकले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई संविधानसभा प्रक्रियाबाट बाहिरिएको निर्णयसहितको पत्र बुझाएको छ । अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा गएको फोरम लोकतान्त्रिकले सभाध्यक्षलाई संविधानसभा प्रक्रियाबाट बाहिरने पत्र बुझाएको प्रमुख सचेतक रामजनम चौधरीले बताएका छन् ।
सचेतक चौधरीले वर्तमान राजनीतिक समस्याको समाधानमा आफूहरुले दिएका विकल्प र प्रस्ताव कांग्रेस, एमाले र एमाओवादीले नसुनेका कारण बाध्य भएर संविधानसभा प्रक्रियाबाट अलग हुने निर्णय लिनु परेको बताए । उनले १६ बुँदे सहमतिको हस्ताक्षरकर्ता दललाई बाइपास गरेर कांग्रेस, एमाले र एमाओवादीले आफूखुशी अगाडि बढ्ने निर्णय गरेपछि संविधानसभाको प्रक्रियामा रहनुको औचित्य समाप्त भएको जनाए । चौधरीले भने, ‘अब हामी हाम्रा माग सम्बोधन गर्न सडकबाट दबाब दिन्छौं ।’
प्रमुख तीन दलले आफूखुशी अगाडि बढेको भन्दै केही दिन अगाडि फोरम लोकतान्त्रिकले आफैंबाट विभाजित भएको दल शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकलाई लिएर संघीय लोकतान्त्रिक मोर्चा गठन गरेको थियो । ‘अहिले त्यही मोर्चाले आन्दोलन गर्छ,’ चौधरीले भने, ‘आन्दोलनरत अन्य मोर्चासँग पनि सहकार्यको थालनी हुन्छ ।’
फोरम लोकतान्त्रिकले १६ बुँदे सहमति अनुसारको आठ प्रदेश बनाउनु पर्ने माग गर्दै आएको छ । आठ प्रदेश बनाउने हो भने सबै समस्याको समाधान हुने उसको दाबी छ । यसअघि थरुहट तराई पार्टी, मधेशी मोर्चामा आबद्ध दलले संविधानसभाको प्रक्रिया बहिष्कार गर्ने निर्णय गरिसकेका छन् ।



