हुलाकी न्यूज, काठमाडौं, २३ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की अध्यक्ष रुक्मिणी चौधरीले आन्दोलनकारीले सँधैभरी हाथमा हथकडी लगाएर र मुखमा दही जमाएर बस्न नसक्ने बताएकी छन् ।
काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा नेतृ चौधरीले मधेशी थारुको आन्दोलनमा राज्यले बर्बर दमन गरेको भन्दै यस्तै रवैया रहे आन्दोलनकारी पनि प्रतिकार गर्न विवश हुने बताएकी हुन् ।
नेतृ चौधरीले मधेश थरुहट आन्दोलन पाँच महिना पुग्न लाग्दा पनि सरकार कानमा तेल हालेर बसेको र देशको बिग्रदो परिस्थितिको दोष अकारण भारतलाई दिएको आरोप लगाइन् ।
प्रमुख दलहरुले आफूलाई पायक पर्ने हिसाबले सात प्रदेश राखेको तर मधेशी र थारुले भनेबमोजिमको संघीयता आयोग मार्फत टुंग्याउनुपर्ने भन्दै विवाद झिकेको उनको आरोप छ । उनले वार्ताको नाममा सरकारले नौटंकी मात्र गरिरहेको भन्दै आयोगमार्फत नै संघीयता टुंग्याउने हो भने अहिलेको सात प्रदेश पनि खारेज हुनुपर्ने टिप्पणी गरिन् ।
नेतृ चौधरीले जारी आन्दोलनले मधेश थरुहटको हकहित संस्थागत गर्न मात्र नखोजेर समग्र राष्ट्रिय एकता जोगाउन खोजेको दाबी गरिन् । उनले सरकारले समयमै थारु मधेशीलाई उनीहरुको अधिकार नदिए देशमा ठूलै दुर्घटना हुने चेतावनी दिएकी छन् । उनले मधेशी र थारु युवाहरु अब आजित भइसकेको भन्दै सरकारको यस्तै रवैया रहे माओवादीको जनयुद्धभन्दा पनि ठूला र शक्तिशाली जनयुद्ध हुनसक्ने बताएकी छन् ।




