हुलाकी न्यूज, जनकपुरधाम २३ पुस । काँग्रेस र एमाले निकट व्यापारीहरुको समूह मधेशी मोर्चाको प्रतिकार गरेको छ ।
काँग्रेस निकट विजय साह र एमाले निकट सुरेन्द्र भण्डारी नेतृत्वको व्यापारीहरुको समूहले मोर्चाका नेताहरुमाथि आक्रमणसमेत गरेको छ ।
साह जनकपुर उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्ष हुन् भने काँग्रेस नेता विमलेन्द्र निधीको विश्वास पात्र हुन् ।
त्यस्तै भण्डारी जनकपुर उद्योग संघका सचिव हुन् भने एमाले नेता रघुबीर महासेठका विश्वास पात्र हुन् ।
करिब १२ जना व्यापारी तथा एमाले कार्यकर्ताहरुको समूहले विभिन्न खाले घरेलु हतियार सहित आक्रमण गरेको सद्भावना पार्टीका जिल्ला अध्यक्ष संजय सिंहले हुलाकी न्यूजलाई बताए ।
यता तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष रुपनारायण मण्डलले पनि आफुहरुमाथि आक्रमण भएको बताए ।
काँग्रेस र एमाले कार्यकर्ताहरुले ती दुबै जनाको मोटरसाईकल जलाएको छ । संजय सिंहको ज २ प ५४१९ र रुपनारायण मण्डलको ज ३ प २९९१ नम्बरको मोटरसाईकल जलाएको हो ।
फोरम नेपालका जिल्ला अध्यक्ष शेशनारायण यादवसहितका नेताहरु भागेर जोगिएका थिए । मोर्चाका कार्यकर्ताहरु कम भएको बेला काँग्रेस एमालेका व्यापारीहरुले आक्रमण गरेको हो ।




