हुलाकी न्यूज, काठमाडौं, २२ भदौ । सशस्त्र समूह मधेश मुक्ति टाइगर्स (तराई) ले जारी मधेश आन्दोलनमा चासो देखाएको छ । मधेश मुक्ति टाइगर्स (तराई) का अध्यक्ष राजन प्रताप प्रफुल्लले प्रेस विज्ञप्ति जारी गरी मधेशी दलहरुले स्वतन्त्र मधेशको लागि आन्दोलन गर्ने हो भने आफूहरुले पनि सहयोग गर्ने बताएका छन् ।

उनले विगतमा पनि दुई पटक मधेश विद्रोह भइसकेको र फेरि पनि तिनै मागहरुका लागि अर्को आन्दोलनको औचित्य नरहेको बताउँदै मधेशी दलहरुले बारम्बार मधेशी जनतालाई धोका दिँदै आएको आरोप लगाएका छन् ।

विज्ञप्तिमार्फत प्रफुल्लले एउटै मागका लागि मधेशीहरु बारम्बार सहिद भइरहेको भन्दै अब फेरि २२ बुँदे र ८ बुँदे लागु गराउनका लागि मधेशीले सहादत दिनुको अर्थ नरहेको बताएका छन् ।

अध्यक्ष प्रफुल्लले मधेशी नेता र पत्रकारले पनि विगतमा मधेशी सशस्त्र समूहलाई गलत ढंगले व्याख्या गरेको भन्दै स्वतन्त्र मधेशको लागि आन्दोलन हुनेभए आफूहरु सबै पुराना कुरा बिर्सेर सहकार्य गर्न तयार रहेको जनाएका छन् । उनले ०६२/६३ को जनआन्दोलन र त्यसपछिको दुबै मधेश आन्दोलनमा सशस्त्र समूहले सहयोग गरेकै कारण उक्त आन्दोलनहरु सफल भएको बताउँदै यसपटक पनि सशस्त्र समूहको सहयोग अपरिहार्य रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । सरकारले निहत्था मधेशीमाथि गोली बर्साइरहेको तर त्यसको प्रतिकार गर्न यसपटक मैदानमा सशस्त्र समूह नरहेको भन्दै प्रफुल्लले मधेशी नेताहरुले सशस्त्र समूहलाई पछाडि छोड्दै अशोक राईसँग एक भएको गुनासो गरे ।

अघिल्लो आन्दोलनमा सशस्त्र समूहको सहयोग लिएका मधेशी नेताले त्यसपछि सशस्त्र समूहलाई नै कमजोर पारेको बताउँदै प्रफुल्लले निहत्था मधेशीहरु मरिरहेको पीडा असह्य भएपनि मधेशी नेताहरुका कारण आफूहरु मुखदर्शक बन्न बाध्य भएको बताएका छन् ।

madhesh-mukti-tigers

 

madhesh mukti tigers 1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.