हुलाकी न्यूज, वीरगंज, २२ पुष । मधेश आन्दोलनका गम्भीर घाईते लालबाबु पटेलले आफ्नो उपचारको उचित व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत पटेललाई सहयोगस्वरुप नगद र जिन्सी दिन पुगेका संघसंस्था र व्यक्तिहरुसँग उनले यस्तो आग्रह गरेका हुन् ।

पटेललाई विभिन्न व्यक्ति एवं संघसंस्थाले मंगलबार अस्पतालमा पुगेर आर्थिक एवं जिन्सी सहयोग गरेका थिए । वीरगंज उपमहानगरपालिका–१७ पिपराका स्थानीयबासीले सहयोगस्वरुप छ हजार एक सय पचास रुपैयाँ पटेललाई दिएका छन् । स्थानीय युवा बिशेश्वर पटेलको नेतृत्वमा गएको टोलीमा जयराम पटेल, अशोक पटेल, सुरेश पटेल, ठाकुर पटेल लगायतकाले सो रकम अस्पतालमै पुगेर हस्तान्तरण गरेका हुन् ।

त्यस्तै सदभावना पार्टी ईकाई कमिटी पिपराका अध्यक्ष कृष्णा कुमार कुर्मीको नेतृत्वमा अस्पताल गएको टोलीले ११ हजार ३ सय ३० रुपैया नगदसहित एक थान कम्बल आन्दोलनका घाईते पटेललाई उपलब्ध गराएको छ । सो टोलीमा लक्ष्मण साह तेली, श्रीराम पंडित, रंजित कुर्मी, पुष्पराज प्रसाद लगायतका रहेका थिए ।

यसैगरी नेपाल सदभावना पार्टी महिला मञ्चका केन्द्रिय उपाध्यक्ष एवं महिला नेतृ मुन्नी श्रीवास्तवले व्यक्तिगत तीन हजार एक रुपैया नगद सहयोग गरेकी छन् । यसैगरी पर्सा जिल्ला गाबिस पंचरुखी वडा नं. ७ निवासी मुरतुजा आलमले नगद एक हजार एक सय ५१ रुपैया सहयोग गरेका छन् । तराई मधेश लोकतान्त्रिक पार्टी पर्साका उपाध्यक्ष जटाशंकर गुप्ताले नगद एक हजार एक सय र एक थान कम्बल, एक थान लुगा र २ थान स्वीटर आफनो तर्फबाट व्यक्तिगत सहयोग गरेका छन् ।

रौतहट टिकुलिया निवासी पटेललाई भाद्र २७ गते गौरमा प्रर्दशनकारी र प्रहरीबिच झडप हुँदा सुरक्षाकर्मीको गोली लागेको थियो । गम्भीर घाईते पटेललाई उपचारका लागि काठमाडौंको विर अस्पताल ल्याइएको थियो ।
हाल उनको वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । घाईते भएदेखि नै उनी अस्पतालको शैयामा छन् । पटेलको अवस्था दिन प्रति दिन नाजुक बन्दै गईरहेको छ ।

पटेलका चार जना छोरी मात्र छन् । उनीहरु सबैको उमेर १२ बर्ष मुनि नै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.