
वीरगंज, २१ पुस । जारी मधेश आन्दोलनका गम्भिर घाइते लालबाबु पटेललाई विभिन्न व्यक्ति एवं संघ संस्थाद्वारा आर्थिक एवं जिन्सी सहयोग प्राप्त भएको छ । रौतहट टिकुलिया निवासी पटेललाई भाद्र २७ गते गौरमा प्रदर्शनकारी र प्रहरी बिच झडप हुँदा सुरक्षाकर्मीको गोलीबाट गम्भीर घाइते भएका थिए ।
हाल उनको उपचार वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको छ । उनी घाइते भएदेखि नै अस्पतालकै शैय्यामा छन् । पटेलको अवस्था दिनप्रति दिन नाजुक बन्दै गएको र उनको स्वास्थ्य उपचारमा सहयोग पुग्ने उद्देश्यले आर्थिक एवं जिन्सी बिभिन्न व्यक्ति र संघ संस्थाहरुले सहयोग गरेका हुन ।
मंगलबार एक कार्यक्रमका बिच वीरगंज उपमहानगरपालिका वडा नं. १७ पिपराका स्थानीय बासीन्दाहरुले ६ हजार एक सय पचास रुपैयाँ सहयोग गरेका छन् । स्थानीय युवा विशेश्वर पटेलको नेतृत्वमा गएको टोलीमा जयराम पटेल, अशोक पटेल, सुरेश पटेल, ठाकुर पटेल लगायतकाले सो रकम अस्पतालमै गएर हस्तान्तरण गरेका हुन् ।
यसैबिच सद्भावना पार्टी इकाई कमिटी पिपराका अध्यक्ष कृष्णा कुमार कुर्मीको नेतृत्वमा नारायणी उपक्षेत्रीय अस्पताल गएको टोलीले गम्भिर घाइते लालबाबु पटेललाई ११ हजार ३ सय तीस रुपैयाँ नगदसहित एक थान कम्बल वितरण गरेका छन् । सो टोलीमा लक्ष्मण साह तेली, श्रीराम पंडित, रंजित कुर्मी, पुष्पराज प्रसाद लगायतकाले हस्तान्तरण गरेका थिए । यसैगरी नेपाल सद्भावना पार्टी महिला मञ्चका केन्द्रीय उपाध्यक्ष एवं महिला नेतृ मुन्नी श्रीवास्तवले व्यक्तिगत तिन हजार एक रुपैया नगद सहयोग गरेकी छिन् । यसैगरी पर्सा जिल्ला गाविस पंचरुखी वडा नं. ७ निवासी मुरतुजा आलमले नगद एक हजार एक सय एकाउन रुपैया सहयोग गरेका छन् ।
यसैगरी, तराई–मधेश लोकतान्त्रिक पार्टी पर्साका उपाध्यक्ष जटाशंकर गुप्ताले नगद एक हजार एक सय र एक थान कम्बल, एक थान लुगा र २ थान स्वीटर आफ्नो तर्फबाट व्यक्तिगत सहयोग गरेका हुन् । यता, जिन्सी र नगद सहयोग बुझ्दै पटेलले आफूलाई सहयोग भन्दा पनि उचित उपचारको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । घाइते पटेलको चार जना छोरी मात्र रहेको र उनीहरुको उमेर १२ बर्ष मुनि नै रहेको छ ।



