हुलाकी न्यूज, काठमाडौं २१ पुस । मधेशमा शान्तिपूर्ण आन्दोलन जारी रहेका बेला मधेशका सशस्त्र संगठनहरु पनि सक्रिय भएका छन् ।
आन्दोलन जारी रहेकै बेला तीनवटा सशस्त्र संगठनले कार्यगत एकता गर्दै विभिन्न स्थानमा विस्फोट गरेका थिए भने सशस्त्र गतिविधिलाई अगाडि बढाउने बताएका छन् ।
सोमबार साँझ अखिल तराई मुक्ति मोर्चाले सप्तरीको झुटकी गाविसस्थित प्रहरी चौकीका इन्चार्ज असई रमेश सुब्बाको गोली हानी हत्या गरेको छ ।
हुलाकी न्यूजसँग टेलिफोनमा कुराकानी गर्दै मोर्चाका संयोजक जयकृष्ण गोइतले चोहरा चौकमा नेपाल प्रहरी र अखिल तराई मुक्ति मोर्चाका कार्यकर्ताबीच भिडन्त हुँदा असई मारिएको दाबी गरे ।
गोइतले भने,‘नेपाली राज्य सत्ताले बन्दुकको भरमा मधेशीको आन्दोलन दबाउन खोजेकोले प्रतिकार स्वरुप हाम्रो संगठनले राज्य सत्तामाथि आक्रमण गरेको छ । हामी प्रहरीप्रति होइन राज्य सत्ताप्रति आक्रमक बनेका छौं । हामीले नेपाली प्रहरीलाई मधेश छोड्न आग्रह गरेपनि उनीहरुले छोड्न मानेन् । त्यसकारण यो घटना भएको हो ।’
गोइतद्वारा जारी गरिएको विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलन गरेर र संघीयता मागेर मधेशको समस्या समाधान नहुने भन्दै स्वतन्त्र मधेशका लागि सशस्त्र संघर्ष गर्नुको विकल्प नरहेको जनाइएको छ ।
यता सप्तरीका प्रहरी प्रमुख भीम ढकालले भारतीय नम्बर प्लेटको दुईवटा मोटरसाईकलमा आएका व्यक्तिहरुले गोली प्रहार गरेको बताए । एसपी ढकालका अनुसार घटना कस्ले र किन गराएको भन्ने बारे अनुसन्धान भईरहेको छ ।
असई सुब्बालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याएपछि डाक्टरले मृत घोषणा गरेको थियो । उनको पोष्टमार्टमका लागि बीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।





समाचारमा लेखिए जस्तो असई भिडन्त र झडपमा मारिएका होइनन् । सादा पोशाकमा निहत्था उनि चौकीभन्दा एक किलोमिटरको दुरीमा रहेको झोहरा चोकमा चिया खाएर चौकी फर्किरहेका बेला छाति र तिघ्रामा गोली हानिएको हो । मर्ने र मार्ने कामलाई नै बहादुरी देख्ने तथा नगरेको कामको पगरी गुथ्ने मोर्चा संयोजकले नभने पनि बढाइ चढाई गरेर लेख्ने तर मृतकको परिवारको एक शब्द पिडा लेख्न नसक्ने पित पत्रकारहरु हो । जस्तो समाज निर्माण गदैछौ तिमि, अन्तमा तिमि पनि त्यस्ताबाट नै बच्दैनौ ।