
हुलाकी न्यूज, काठमाडौं, २० पुष । मधेश आन्दोलनमा समर्थन जुटाउन सीमावर्ती भारतीय सहरको भ्रमणमा रहेका मधेशी नेताहरु राजनीतिक भेटभाटमा व्यस्त छन् । सदभावना पार्टीका केन्द्रिय सदस्य एवं युवा नेता योगेन्द्र यादवको नेतृत्वमा भारतको पटना, लखनउलगायतका सहरको भ्रमणमा रहेको युवा नेताहरुको टोलीले राष्ट्रिय जनता दलका उपाध्यक्ष एवं पूर्व केन्द्रिय मन्त्री रघुवंश प्रसाद सिंहसँग भेट गरेका छन् ।
सिंहको निवासस्थल पटनामा भएको भेटका क्रममा नेता सिंहले मधेश आन्दोलनमा आफ्नो पार्टीको पुर्ण समर्थन रहने आश्वासन दिएको नेता यादवले बताएका छन् ।
त्यस्तै, मधेशी नेताहरुले भारतीय जनता पार्टीका दरभंगा विधान क्षेत्रबाट विजयी विधायक संजय सरावगीसँग पनि भेट गरेका छन् । यसअघि उनीहरुले राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवसँग पनि भेट गरेका थिए ।
जारी मधेश आन्दोलनमा दिल्लीभन्दा पनि मधेशसँग सीमा जोडिएका भारतीय राज्यहरुको समर्थन आवश्यक रहेकोले आफूहरु सीमावर्ती क्षेत्रको दौडाहामा निस्केको नेता यादवले बताएका छन् ।
भेटका क्रममा आफुहरुले मधेशको समस्या र आन्दोलनका विषयमा भारतीय नेताहरुलाई विस्तृत जानकारी दिएको नेता यादवले बताए । उनले मधेशसँग प्रत्यक्ष सम्बन्ध राख्ने सीमावर्ती भारतीय राज्यबाट पुर्ण समर्थनको आश्वासन लिएर मात्र फर्किने प्रतिक्रिया दिएका छन् ।




कुन नौलो कुरा भयो र ! चुनावका बेला पनि लाठीगुण्डा लिन जान्थ्यौ, अहिले पनि गयौ !