madhesh-aim

हुलाकी न्यूज, काठमाडौं २० पुस । स्वतन्त्र मधेश गठबन्धनका तीन जना कार्यकर्तालाई सोमबार विशेष अदालत काठमाडौंमा पेस गरिएको छ । गठबन्धनका उपाध्यक्ष चन्दन सिंहले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार तीनै जना कार्यकर्ताहरुलाई ११ बजेतिर अदालतमा ल्याइएको छ ।

सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले हुलाकी न्यूजसँगको कुराकानीमा सोमबार उनीहरुलाई विशेष अदालतमा पेस गरेको बताए ।

हुलाकीसँग ज्ञवालीले भने,‘उनीहरु मधेशलाई टुक्रयाउने योजना अनुसार काम गर्दै आएका छन् । उनीहरु मधेशको बेग्लै झण्डा फहराउँदै, मधेशको बेग्लै राष्ट्रिय गान बजाउँदै हिडेका छन् । अहिले उनीहरुको गतिविधि तीब्र भएको छ ।’

ज्ञवालीका अनुसार सिराहाको लाहानमा शनिबार पक्राउ परेका पाँच जनामध्ये तीन जनमाथि राज्यविरुद्धको अपराध तथा कसुर साजाय ऐन अन्तरगत मुद्दा चलाइएर विशेष अदालत काठमाडौं पठाइएको छ ।

राज्यविरुद्धको अपराध मुद्दामा विश्नुपुर कटीका ४० वर्षीय चन्देश्वर महतो, लाहान ८ का ३० वर्षीय विष्णुदेव चौधरी र लहान १३ का २६ वर्षीय सुदिपराज कुशवाहा परेका छन् ।

पक्राउ मुद्दा चलाइएकाहरुको विशेष अदालतबाट म्याद थप हुन सक्ने उपाध्यक्ष सिंहले बताए ।

यसअघि गठबन्धनका संयोजक डा.सीके राउतमाथि पनि राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएपनि उनले सफाई पाईसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.